पाइपलाइनबाट नेपाल आयल निगमको साढे एक अर्ब बचत, पाँच वर्षदेखि नाफामा

काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा
लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२÷०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२÷०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३÷०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४÷०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५÷०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६÷०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५÷७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ । रासस

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै