डा. गैरेले आफ्नो ज्यान माया मारिसकेका थिए

कोरोना भाइरसको संक्रमण भएको उनलाई ५ महिना भयो। तर उनलाई अझै पनि जीउ दुख्न छोडेको छैन। भर्‍याङ चढ्न मुस्किल हुन्छ। लामो समयसम्म बोल्न सक्दैनन्। खोकी लागिहाल्छ।
औषधि प्रयोग गरिरहेका छन्।

१८ दिनको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए, उनी। ५ महिना अगाडिको रोगले उनलाई अझै पनि गलाएको छ। घरीघरी उनी कमजोर महसुस गर्छन्।

शरीरले बिसन्चो माने पनि उनी तङ्ग्रिँदै छन्। दैनिक अस्पताल आउँछन्। बिरामी हेर्छन्। संक्रमण पनि लक्षण देखिएका आफू जस्ता बिरामीलाई काउन्सिलिङ गर्छन्।

आफूले पूर्नजन्म पाएको ठान्छन्, उनी। गलेको शरीरलाई घरमै बसेर अझै गलाउन उनले उचित ठानेनन् जसले गर्दा उनी फेरि आफ्नो काममा फर्किएका छन्। संक्रमित हुनुभन्दा अगाडि उनी आफ्नो स्वास्थ्य भन्दा पनि कामलाई बढी महत्व दिन्थे। बिरामीकै सेवामा रमाउँथे।

घर परिवारभन्दा पनि अस्पतालमै धेरै समय बिताउँथे, उनी। संक्रमणका कारण लामो समय थलिए पनि उस्तै गरी विरामीको सेवामा खटिन थालेका छन्, वीर अस्पतालका जनरल फिजिसियन डा. ध्रुव गैरे।

तर शैली भने केही परिर्वतन भएको छ। डा. गैरै आफूलाई सकेसम्म सुरक्षित राख्ने प्रयास गर्छन। साबधानीका उपायहरु अपनाउँछन्। ‘रिइन्फेक्सन’ नहोस् भन्नका लागि पहिलाको भन्दा अझ बढि सजग भएर आफ्नो काम गरिरहेका छन्।

कसरी भए, संक्रमित?
कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिँदै थियो। पहिलो लकडाउन भखरै खुलेको थियो। विरामीको चाप बढेको बढिरहेको थियो। डा. गैरे संक्रमणबाट बच्नका लागि स्वास्थ्यका मापदण्डको पालना गरिरहेका थिए।

सोचेका थिएनन् उनले- विरामी हेर्दाहेर्दै आफैँ थलिनु पर्छ भनेर। उनी आफू संक्रमित हुनु भन्दा पनि विभिन्न ठाउँबाट आएका विरामीको उपचार गरेर उनीहरु घर फर्काउने उद्देश्यले काममा लागि परेका थिए।

काममै दौडिरहेका डा. गैरेलाई बिसन्चो भयो। खानाको स्वाद पाएनन्। पखाला लाग्यो। वान्ता हुन थाल्यो। ज्वरो आयो। शरीर दुख्न थाल्यो। सबै लक्षण कोरोना भाइरसँग मिल्दा जुल्दा थिए। अस्पताल जाने सोच बनाए।

साउन २१ गते बिहानै अस्पताल पुगे। उपचार सुरु भयो। पीसीआर परीक्षणका लागि स्वाब झिकियो। रिपोर्ट पोजेटिभ नै आयो।  उनलाई गाह्रो भइरहेको थियो। शरीर कमजोर भइसकेको थियो। उनलाई एन्टिबायोटिक चलाइएको थियो।

अक्सिजन लेभल घट्दै थियो। स्वास फेर्न गाह्रो भइसकेको थियो।

डा. गैरेको स्वास्थ्य जटिल बन्दै गएपछि वीरबाट उनलाई शिक्षण अस्पताल सरियो। उनलाई आइसीयूमा भर्ना गरियो। अक्सिजन लेभल घट्दै थियो। उनी घोप्टो परेर सुते।

त्यही बेला उनलाई आँखा नदेख्ने र कान नसुन्ने समस्या उत्पन्न हुन थाल्यो। डाक्टर, नर्स उनको छेउमै आएर बोलाउँथे। उनलाई सम्झाइरहेका थिए, ‘नआत्तिनुस्। हामी छौँ नि।’

कसरी गरियो उपचार?
आफू पनि एक चिकित्सक भएका कारण डा. गैरेले आफ्नो उपचारमा खटिएका चिकित्सकहरुको बेचैनी बुझेका थिए। उनको मन छट्पटाइरहेको थियो। तर त्यो छट्पटाहाट उनले कसैलाई देखाउन चाहेनन्।

उनको मनमा रोगसँग लड्नु पर्छ- यही कुराले डेरा जमाइरहेको थियो। उनी आफ्नो मनलाई आफै सम्झाइरहेका थिए,‘म निको हुन्छ। मेरो परिवार मलाई कुरिरहेको छ।’

मनलाई जति सम्झाइ बुझाइ गरेपनि ढुक्क हुने उनको अवस्था थिएन, उनका लागि। नाकबाट लिएको अक्सिजनले नपुगेपछि हाइ–फ्लो नोजल क्यानुलाबाट अक्सिजन पम्प गरिएको थियो।

स्वास्थ्यमा सुधार आउनुको साटो उनको स्वास्थ्य झनझन जटिल बन्दै गएको थियो।

चिकित्सकले उपचारको अर्को विकल्प खोज्न थाले ‘रेमडेसिभिर’।

तर यो औषधि अहिले जस्तो सजिलै पाउने अबस्था थिएन। उनका लागि रेमडेसिभिर औषधि मगाइयो। औषधि बंगलादेशबाट भारत हुँदै शिक्षण अस्पताल आइपुग्यो। रेमडेसिभिर चलाइयो। तर उनलाई औषधिले काम गरेन।

रेमडेसिभिरपछि उनका लागि अन्तिम बिकल्प बन्यो ‘प्लाज्मा थेरापी’। दोलालघाटका एकजनाले उनलाई प्लाज्मा दिए।

यो पटक भने उनको स्वास्थ्यमा केही सुधार आयो। डा. गैरे पनि आत्मबल बलियो बनाए।

आइसीयूमा हुँदा
स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा उनले सोचिरहेका थिए, ‘अब मैले परिवारलाई सम्झाउनै पर्छ। नभनेका कुराहरु भन्नुपर्छ। सम्झाउनु पर्ने कुराहरु सम्झाउनु पर्छ,’ उनी तयारी अवस्थामा थिए।
डा. गैरेले भने, ‘मैले आधा घण्टामा सबै कुरा परिवारलाई बुझाउनु पर्ने थियो। पटक–पटक अब भन्नु पर्छ भन्ने हेक्का मनमा आइरहेको थियो। धेरै व्यवहारिक कुराहरु बुझाउनु पर्ने हुन्छ। जुन मेरो पनि थियो।’

परिवारको महत्व उनले अस्पतालमा बुझे। विरामी हुनु भन्दा अगाडि कामलाई उनले सबैभन्दा धेरै प्राथमिकतामा राख्थे। बिहानै घरबाट निस्केका उनी अँध्यारोमा घर पुग्थे।

तर अहिले डा. गैरेले काम सँगसँगै आफ्नो व्यक्तिगत जीवनको महत्व बुझेका छन्। आफ्नो स्वास्थ्यको ख्याल राख्न थालेका छन्।  आफूले आफूलाई माया गर्न थालेका छन्।

अस्पतालबाट घर फर्किदाको क्षण
स्वास्थ्यमा सुधार आएपछि डा. गैरे शिक्षण अस्पतालबाट वीर अस्पताल पुगे। अन्तिम परीक्षणका लागि स्वाब दिए। एम्बुलेन्समा घर फर्किए। घर पुग्दा उनको स्वागतका लागि बुवा–आमा, छोराछोरीसहित परिवारका सबै जना गेटमा बसिरहेका थिए। लामो समय पछि उनले आफ्नो परिवारलाई एकै साथ देखे।

अहिले पनि त्यो क्षण उनको मानसपटलमा ताजै छ। ‘आइ कान्ट फर्गेट द्याट मोमेन्ट’, भावुक हुँदै डा. गैरेले भने।

बिरामी प्रतिको दृष्टिकोण
उनी पहिला पनि नम्र स्वाभावले बिरामीको मन जित्थे। अहिले पनि उनको स्वभाव उस्तै छ। तर उनीहरुप्रतिको सोचाइ भने केही परिर्वतन भएको डा. गैरेले बताए।

उनले भने, ‘पहिला म विरामीलाई डाक्टरको हैसियतले मात्रै हेर्थेँ। तर अहिले आफू विरामी भएपछि विरामीले डाक्टरबाट के आशा गरिरहेका हुन्छन् भन्ने कुरा महसुस भएको छ। म त्यो कुरालाई बुझेर उनीहरुको उपचार गर्ने गरेको छु।’

‘मैले पूर्नजन्म पाएको छु। यो जीवनलाई सही रुपमा सदुपयोग गर्ने छु’, उनले थपे।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै