साबधानीहरु अपनाइरहनु आवश्यक

यस धर्तीमा कोरोना भाइरसको उदय भएको दशकौँ भइसकेको छ भने पछिल्लो पटक कोरोनाले आतंक फैलाएको वर्ष दिन नाघिसकेको छ।

विश्वका कति देशहरुमा कोरोनाको जन्माेत्सव पनि मनाए होलान् भने अर्कोतिर  कोरोना आतंकसँगै WHOले प्यान्डेमिक घोषणा गरेको पनि वर्ष दिन हुन लाग्यो र त्यसको वार्षिकाेत्सव मनाउने तयारी पनि कतै भइरहेकाे छ हाेला।

कोरोना आतंक छिमेकी देश चीनबाट  सुरु भई विश्वका विभिन्न महादेश, देश आदिमा फैलिने क्रममा दक्षिण एसिया र हाम्रो देश नेपाललाई पनि यसले नराम्ररी सतायो।

सन् २०२० को जुन महिना देखि नोभेम्बरसम्म झन्डै ५-६ महिना दक्षिण एसिया कोरोना प्यान्डेमिकको केन्द्रबिन्दु नै बन्यो भने अक्टोबर महिनातिर अर्थात् नेपालको महान पर्व बडा दसैँताका नेपालको संक्रमण दर विश्वमै उच्च बिन्दुमा पुगी विश्वमै उच्च संक्रमण दर भएको देशहरुमा नेपाल पहिलो १० भित्र पुगेको थियो। त्यति बेला नेपालको औसत संक्रमण दर करिब २५% पुगेको थियो।

यस पटकको यस विश्लेष्णात्मक लेखमा पछिल्लो समयमा दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो त्यसको खोजनिती गरी हेरौँ।

ओर्ल्ड़ोमिटर (Worldometer) का अनुसार  दक्षिण एसियामा मात्रै सन् २०२१ जनुवरीको मध्यसम्ममा जम्मा ११,९७५,३३८ कोरोना संक्रमित  भेटिसकेका छन् भने कोरोना संक्रमणकै कारणले जम्मा  १,७५,५१९ को ज्यान गइसकेको छ। जनवरी महिनाको मध्यसम्म विश्वमा जम्मा ९,४२,८५,२६८ कोरोना संक्रमित भइसकेका छन् भने यसको कारणले जम्मा २०,१६,७५५को मृत्यु भइसकेको छ।

त्यस अर्थमा विश्वको जम्मा कोरोना संक्रमितको करिब १३% र जम्मा कोरोनाका कारण मृत्यूको करिब  ९% दक्षिण एसियामा भेटिएको छ। चित्र न. १ मा दक्षिण एसियाली देशहरुका २०२१ जनवरी मध्यसम्मका जम्मा संक्रमित र जम्मा मृत्युका संख्या देखाइएको छ।

चित्र न. १ मा देखाइए जस्तै दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै जम्मा संक्रमित र जम्मा मृत्यु छन् भने भुटानमा सबैभन्दा कम जम्मा संक्रमित र जम्मा मृत्यु छन् । जम्मा संक्रमितको हिसाबले दक्षिण एसियामा सबैभन्दा धेरै देखि कम सम्मका देशहरु क्रमश: भारत, बंगलादेश, पाकिस्तान, नेपाल, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान हुन्।

सन् २०२० को उत्तरार्धमा भारत विश्वमै कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको थियो भने हाल त्यहाँ प्यान्डेमिक नियन्त्रण राम्रै देखिन्छ। भुटान पनि एक दक्षिण एसियाली देश भएता पनि त्यहाँ प्यान्डेमिक नियन्त्रण विश्वमै अब्बल देखिन्छ। त्यहाँ हाल सम्म साढे आठ सयभन्दा कम मात्र संक्रमित छन् र त्यहाँ पहिलो पटक जनवरी ८मा एक जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ।

माल्दिभ्स र श्रीलंकाले हालसम्म प्यान्डेमिकको नियन्त्रण सफलतापूर्वक गरेको देखिन्छ यद्यपि बेलाबेलामा ती देशहरुमा संक्रमितको संख्या एक्कासी सधैँभन्दा केही धेरै भेटिने गरेको छ। ती देशहरुले हाल सम्म बिरलै WHOले निर्धारण गरेको प्यान्डेमिक प्रकोपको सीमा नाघेका छन्।

जम्मा मृत्युको आधारमा धेरै देखि कम सम्मका देशहरु क्रमश: भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान हुन् । चित्र न. २ र ३ मा दक्षिण एसियाका देशहरुमा जम्मा संक्रमित र जम्मा मृत्युको अनुपात देखाइएको छ।

कुनै पनि रोगको प्रकोप अर्थात् प्यान्डेमिकको अवस्थामा परीक्षणको महत्व कति हुन्छ भन्ने कुरा यस अघि धेरै पटक चर्चा गरिइसकेको छ। चित्र न. ४ मा दक्षिण एसियाली देशहरुमा प्रति एक हजार जनसंख्यामा दैनिक कति परीक्षण गरिएको छ देखाइएको छ।

सरसर्ती हेर्दा विश्वका विकसित देशहरुले धेरै परीक्षण गरेको देखिन्छ भने कम विकसित देशहरुले न्यून परीक्षण गरेको देखिन्छ। चित्र न. ४ मा देखाइए जस्तै माल्दिभ्स र भुटानले प्रशस्त परीक्षण गरेको देखिन्छ फलस्वरूप ती देशहरुमा प्यान्डेमिकले त्यति दु:ख दिन पाएन।

श्रीलंका र भारतले पनि परीक्षण सन्तोषजनक रुपमा गरेको देखिन्छ तथापि भारतको प्यान्डेमिक नियन्त्रण प्रयास श्रीलंकाको भन्दा कमजाेर देखिन्छ।

नेपाल लगायत बंगलादेश र पाकिस्तानले अप्रयाप्त परीक्षण गरेकाे देखिन्छ जसले गर्दा हालसम्म यी देशहरुमा कोरोनाको संक्रमण र प्यान्डेमिक अति जोखिमपूर्ण देखिन्छ।

अफगानिस्तान विश्वमै परीक्षण अति कम गर्ने र प्यान्डेमिक नियन्त्रण कम्जोर भएको देशमा गनिन्छ। WHOका अनुसार दक्षिण एसियामा प्यान्डेमिक समुदाय स्तरमा फैलिएको एक मात्र देश बंगलादेश हो भने बाँकी देशहरुमा संक्रमण विभिन्न समूह (Cluster)मा देखिएको छ।

WHO का अनुसार भुटानमा फाट्टफुट्ट छरिएका(Sporadic) संक्रमित मात्र भेटिएका छन्।

त्यस्तै चित्र न. ५ ले दक्षिण एसियाली देशहरुको दैनिक संक्रमण दर (पोजिटिभिटी) देखाएको छ जसअनुसार सबैभन्दा  धेरै संक्रमण दर नेपालमा ८.१९% देखिन्छ भने सबैभन्दा कम संक्रमण दर भुटानमा देखिन्छ जहाँ यो दर १% भन्दा कम छ ।

माथि उल्लेखित प्यान्डेमिकका  सबै दर तथा अन्य तथ्यांकले दक्षिण एसियामा प्यान्डेमिक नियन्त्रणमा भुटान सबैभन्दा अगाडि देखिन्छ भने  नेपाल पछिल्लो पंक्तिमा।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,जनुवरी १०देखि १६ (पौष २६ देखि माघ ३)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोनहोप्किन्स विश्वविद्यालय (John Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data)आदि । 

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हाे। गत हप्ता जनवरी १० देखि १६ (पौष २६ देखिमाघ ३) सम्म जम्मा ७ दिनको नेपाल भरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न. ६ मा प्रस्तुत गरिएको।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ता सात दिनमा देशभरि जम्मा  २५३५ जना र काठमाडौँ उपत्यकामा १४९४ जना नयाँ संक्रमित भेटिए भने त्यो भन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा ३०८३ र काठमाडौँ उपत्यकामा १४५० नयाँ संक्रमित भेटिएका थिए।

माथिको तथ्यांकको आधारमा भन्ने हो भने गतहप्ता त्यो भन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या निकै घटेको पाइयो तर काठमाडौँ उपत्यकामा भने संक्रमितको संख्या गत हप्ता भन्दा बढेको पाइयो ।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा ४२ रह्यो भने त्यो भन्दा अगाडिको हप्ता पनि ४२ नै थियो।

त्यस्तै काठमाडौँ  र नेपालको अनुपात केलाउने हो भने चित्र नम्बर ७ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात गत हप्ता न्यूनतम ४८.६५% देखि अधिकतम ६४.३४%सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ३७.३६% देखि ६०.९२% सम्म रहेको थियो।

गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करिब ५८.२६ % रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो औसत अनुपात  करिब ४७.७२%थियो।

यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात पहिला भन्दा घट्दै गएको देखिएता पनि यो अनुपात गत एक महिनाभन्दा अघि देखि केही बढ्न खोजेको जस्तो देखियो।

यसले के संकेत गर्दछ भने देशभरि प्यान्डेमिक घट्दै गएता पनि काठमाडौँ उपत्यका कोरोना संक्रमणको केन्द्र बन्दै गएको छ। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा कास्की, बाँके, रुपन्देही आदि पर्दछन् ।

तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख शहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती शहरहरुमा कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक शहरमा संक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो, लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि WHOको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ।

दैनिकसंक्रमण पोजिटिभिटीदर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटीदर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

पोजिटिभिटीदरको बारेमा माथि र गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटीदर चित्र न. ८ मा देखाइएकोछ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहेता पनि केही तल झर्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम ६.०४% देखि अधिकतम  १०.७१%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर८.१६ %रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ६.१% र ११.४७% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ८.७१% रहेको थियो।

गतहप्ता देशभरि जम्मा ३०९८४ परीक्षण  गरियो भने त्यो भन्दा अगाडिको हप्ता जम्मा ३६१४६परीक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करिब साढे चार हजार जति मात्र परीक्षण गरिँदै आएको छ।

यसबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था स्थिर देखिएको छ भने नेपालको अवस्था गत २-३ महिनादेखि क्रमिक रुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो। तर तथ्यांकहरुले  नेपालको कोरोना संक्रमण र प्यान्डेमिक नियन्त्रणको अवस्था अन्य दक्षिण एसियाली देशहरुभन्दा नाजुक भएको देखाउँछ।

केही महिना अगाडिसम्म नेपलाको सक्रिय संक्रमण अति उच्च थियो भने हाल यो निकै तल झरेको छ। भारतले हाल प्यान्डेमिक नियन्त्रण राम्रो गर्दै आएको कुरा विभिन्न तथ्यांकहरुले देखाइरहेको छ । तर पछिल्लो समयमा नेपालको सक्रिय संक्रमण भारतको भन्दा कम देखिनु खुशीको खबर भएता पनि आश्चर्य र शंकाको विषय पनि बनेको छ।

समग्रमा गत हप्ताकोआँकडा हेर्दा नेपालमा प्यान्डेमिकओरालो लाग्ने क्रम जारी छ।  गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमितभन्दा कम देखिएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो। परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने  सम्भावना भने पक्कै पनि हुन्छ। पर्याप्त परीक्षण गर्दागर्दै दैनिक नयाँ संक्रमित र नयाँ मृत्यु घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २६७०५६ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा ३५% महिला र ६५%पुरुष छन्।

त्यस्तै १९५४जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करिब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको  हालसम्मको समग्र कोरोना मृत्युदर (Cumulative death rate) करिब ०.७% छ। हालसम्म नेपालमा २००८९४४ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३.३% जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारि छ। त्यसै अनुरुप जनजीवन पनि सामान्य बन्दै गएको अवस्था छ। हाल परीक्षण कम गर्दै गएको हुनाले पनि कोरोनाको संक्रमण कम हुँदै गएको देखिन्छ। तथ्यांकमा  सुधार आउनु एउटा कुरा हो भने वास्तविक सुधार हुनु अर्को कुरा ।

तसर्थ तथ्यांक मात्रै हेरेर दङ्ग पर्नुभन्दा वास्तविकता केलाउनु आजको आवश्यकता हो। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्न सकिँदैन। विशेष  गरी पछिल्लो समयमा सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकामा संक्रमितको  संख्या र अनुपात बढ्दै जानु राम्रो कुरा होइन। त्यस्तै देशमा जम्मा संक्रमितको संख्या घटे पनि जम्मा मृत्युको संख्या नघट्नु पनि चिताको विषय हो।

त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ।

[email protected]

(डा. श्रेष्ठ ग्वार्को, ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै