५० वर्षदेखि ‘अभिव्यक्ति’ हाँकिरहेका सर्जक

२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन र त्यसले निम्त्याएको परिस्थितिका कारण भएको जनमत संग्रहले बहुदलवादीहरूलाई खुल्ला राजनीतिमा आउने वातावरण सिर्जना गर्‍यो । त्यसैबेला काठमाडौंको केन्द्र मानिने नयाँ सडक पीपलबोटबाट ‘सडक कविता क्रान्ति’ सुरु भयो ।

यो आन्दोलन एक महिनामा काठमाडौं, पाटन, भक्तपुर र बनेपासम्म पुग्यो । सडक कविता क्रान्ति तनहुँको भानु, दमौली हुँदै पोखरामा पुगेर टुङ्गिएको थियो । त्यसबेला एक महिनाभन्दा लामो समय अग्रज साहित्यकार सँगको संगत र बसउठले मेरो अध्ययन र लेखनलाई उर्जा दियो ।

यो आन्दोलनअघि नै नगेन्द्रराज शर्मासँग मेरो भेट नयाँ सडक पीपलबोटमुनि भइसकेको थियो । अनि म साँझ ‘मोती महल’ रेष्टुराँमा हुने नियमित साहित्यिक भेटघाटमा जान थालिसकेको थिएँ । नगेन्द्रराजले निःशुल्क बाँड्ने ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका पाउने भइसकेको थिएँ ।

अभिव्यक्ति प्रेसबाट आएको दिन साँझ तात्तातो सबैलाई एक–एकप्रति बाँड्ने उनको चलनजस्तै थियो । सित्तैमा त्यसरी बाँड्नु मज्जा र थप चियासमेत ख्वाउने उनको उदार मनप्रति सम्मान लाग्थ्यो ।

तर उनलाई रचना प्रकाशनका लागि दिइहाल्ने आँट भने अलिपछि आयो । एकदिन आँटेरै भनेँ, ‘एउटा कथा अभिव्यक्तिका लागि दिन मन थियो ।’

‘राम्रो भए छापिन्छ । दिनुस् न ।’ उनको प्रष्ट जवाफ भने मलाई आशंकित तुल्याउन काफी थियो । गोरखापत्र र मधुपर्कका लागि रचना दिन केशवराज पिंडालीकहाँ पुग्दा पनि उनको जवाफ यस्तै हुन्थ्यो, ‘छाडेर जानोस्, प्रकाशनयोग्य भए छापिन्छ ।’

तर कहिल्यै प्रकाशनयोग्य भएर छापिने अवसर पाएको थिइनँ । अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माको यो जवाफ पनि केशवराज पिंडालीसित झण्डै मिल्दोजुल्दो थियो । तर अभिव्यक्तिमा त्यो मेरो कथा छापियो । कथाको शिर्षक थियो, ‘यौटा यस्तै जिन्दगी ।’

त्यसपछि लेखक–सम्पादकको नाता त जोडियो नै, उनीसँग आजपर्यन्त लेखक प्रकाशकको मात्र नभएर आत्मीय सम्बन्ध जोडियो, कहिल्यै नटुट्ने गरी ।

यसै क्रममा उनले लेखेका दुवै उपन्यास ‘महापुरुष’ र ‘दिवास्वप्न’ पनि पढेँ । मन पराएँ । उनका कथाहरू गोरखापत्रमा छापिए, पछि गरिमा पत्रिका प्रकाशन हुन थालेपछि गरिमामा पनि छापिए ।

वि.सं २०२७ सालमा पहिलो अंक प्रकाशन भएको भएको ‘अभिव्यक्ति’ पत्रिका आजपर्यन्त प्रकाशन गरिरहेका छन् । यो पत्रिका एक प्रकारले उनको जीवनको प्रतीक बनेको छ । उनको जीवनरेखा अर्थात् ‘लाइफलाइन’जस्तै बनेको छ । अभिव्यक्ति भनेकै नगेन्द्रराज शर्मा, नगेन्द्रराज शर्मा भनेकै अभिव्यक्ति भएको छ ।

उनी समाजमा हाम्रै वरिपरिका चिरपरिचित व्यक्ति वा तिनका प्रवृत्तिलाई कथाको रूप दिन्थे र ती रोचक हुन्थे । अभिव्यक्तिमा मेरो कथा लेखनको आरम्भकालीन कथाहरू थुप्रै प्रकाशित भए । तर ‘सुतेको समुद्र’ कथा प्रकाशनले भने मेरो कीर्तिमान नै कायम ग¥यो ।

खासमा त्यो कथा मैले दिनेश सत्याल सम्पादक र कुन्दन पन्त प्रकाशक रहेको ‘भूस्वर्ग’ पत्रिकाको लागि लेखेको थिएँ । तर ‘भूस्वर्ग’ पहिलो अंकको प्रकाशनसँगै बन्द भयो । दोस्रो अंक ननिस्केपछि भूस्वर्गबाट फिर्ता ल्याएको सो कथा अभिव्यक्तिमा प्रकाशनार्थ दिएँ, छापियो ।

कथा चर्चित भयो । म दंग परें । साथीभाइको बधाई पनि पाइयो । म त्यसताका नियमितजसो नगेन्द्रराज शर्माको निवास मित्रपार्क चाबेल पुग्थें, शनिबार बिहान । त्यो कथा प्रकाशन भएको केही समयको अन्तरालमा म शर्माको घर पुगेको थिएँ ।

त्यो दिन जे भयो, त्यो अकल्पनीय थियो ।

नगेन्द्रले सोधे, ‘लब गाउँले तपाईंको घनिष्ठ साथी होइन ?’

‘हो हामी घनिष्ठ साथी हौं ।’ मैले जवाफ दिएँ ।

किनभने लव र म सँगै पढ्थ्यौं नेपाल कमर्स क्याम्पस मीनभवनमा । सडक कविता क्रान्तिमा सँगै भाग लिएपछि हाम्रो मित्रता झन झाङ्गिएको थियो । म उनको घर फुटुङ गएर बसेको थिएँ ।

मेरो कालिमाटीको डेरामा पनि उनी महिनौंजस्तो बसेका थिए । हामी गजबले मिल्ने जोडी थियौं । सँगै विभिन्न साप्ताहिकमा रचना दिन जान्थ्यौं र सँगै प्रकाशित हुन्थे । त्यसैले त मैले नगेन्द्रराजलाई घनिष्ठ साथी हौं भनेको थिएँ ।

त्यसपछि ‘ल त्यसो भए यो चिट्ठी पढ्नुहोस्’ भन्दै एउटा पाना दिए उनले ।

मैले लव गाउँलेका सुन्दर बान्की परेका राम्रा अक्षर चिनिहालें र पढ्न थालें । त्यस चिट्ठीमा मेरो ‘सुतेको समुद्र’ कथा हिन्दी कथाबाट चोरी गरेको आरोप लगाइएको थियो । त्यो कथा चोरीकै भएको, चोरीको प्रमाण उनीसँग भएको, तर सबैभन्दा पहिले चिठी प्रकाशित हुनुपर्ने, त्यसपछि चोरीको प्रमाण देखाउने वचनवद्धता थियो ।

चिठी पढिसक्दा नसक्दै मेरो ओठमुख सुक्यो । चिटचिट पसिना आयो । मैले निरीह भावले नगेन्द्रराजको मुखमा हेर्दै भनेँ, ‘अब के गर्नुहुन्छ ?’

उनले भने, ‘प्रमाण छ भने देखाउनोस् भनेको छु, प्रमाण ल्याए भने छापिन्छ, यो चिट्ठी ।’

म एकप्रकारले ढुक्क भएँ, मेरो मौलिक कथाको लागि चोरीको प्रमाण भेटिने कुरै थिएन । तर नगेन्द्रराजले सम्पादकको निष्ठा जुन देखाए, त्यो स्तुत्य थियो र अझै छ ।

विना प्रमाण त्यो प्रकाशित भएको भए, अर्को अंकमा म खण्डन त गर्न पाउँथें, तर मेरो अनाहकमा बदनामी हुन्थ्यो । उनको सम्पादकको निष्ठाले मलाई त्यो अनाहक बदनामीबाट जोगाएको थियो ।

उनको पहिलो कथासंग्रह साझा प्रकाशनबाट प्रकाशित भएको हो, ‘पीपलको बोटमुनि’ । २०४० दशकमा पनि उनले उपन्यास लेखनलाई निरन्तरता दिइरहे । उनले यौटा कथा लेखेका थिए– ‘बाबा, विनु थाहा ।’

त्यो कथाको पृष्ठभूमि रोचक छ । मकवानपुर जिल्लाका सर्वहारा नेता रूपचन्द्र विष्ट ‘थाहा’ आन्दोलनका सूत्रपातकर्ता थिए । उनले ‘थाहा’को बारेमा पर्चा निकालेका थिए । ‘थाहा’ को विषयमा भाषण गर्थे । छलफल गर्थे ।

कविता बनाउँथे । उनका समर्थकहरूले भित्ताभित्तामा, पर्खालमा, बाटो छेउका लेख्न मिल्ने स्थानमा, ठूलाठूला ढुङ्गामा ‘थाहा’ लेख्थे । मकवानपुर जिल्लालाई उनले थाहामय बनाएका थिए । राष्ट्रिय पञ्चायतमा पनि सदनमा ‘थाहा’ कै कुरा गर्थे । विशेष वाईरोडको बाटो अर्थात् त्रिभुवन राजपथको बाटोको अनगिन्ती ठाउँका पर्खालमा, ढुंगामा ‘थाह’ शब्द देख्न पाइन्थ्यो ।

त्यसै समय बाइरोडको बाटोमा अर्को शब्द देखियो, थाहा शब्द लेखेजस्तै ‘बाबा विनु’ । अनगिन्ती ठाउँमा ‘बाबा विनु’ देखा परे, तर कसले किन लेख्यो त्यसको रहस्य कहिल्यै प्रष्ट खुलेन, सिवाय अनुमानको खेती । कती भन्थे, बाबा बिनु प्रेमी–प्रेमिका हुन् ।

उनीहरूप्रेमलाई त्यसरी लेखेर अमर बनाउन चाहन्छन् । तर यो फगत् अनुमान मात्र थियो । बाबा बिनुलाई कसैले देखे भेटेको थाहा पाइएन, सिवाय ती दुई शब्द ।

तर नगेन्द्रराजले यी दुबैलाई मिसाएर ‘बाबा बिनु थाहा’ कथा लेखे, प्रकाशित गरे । यो कथा त्यो समयको, त्यो घटनाको साक्षी बन्यो । सम्भवतः यो कुरा धेरैको मन मष्तिस्कबाट हटिसकेको छ । मानिसका विस्मृतिको गर्तमा विलाइसकेको छ । तर यो कथामा त्यो समय र घटना सदाका लागि जीवन्त बन्यो ।

उनको दोस्रो कथासंग्रह ‘एकान्तका आफन्त’ नै उनको कथा लेखनको बिसौनी बन्यो । त्यसपछि आक्कलझुक्कल संस्मरण, लेख प्रकाशन गरेपनि उनको लगाव, निष्ठा र निरन्तरता अभिव्यक्तिको सम्पादन÷प्रकाशनमा केन्द्रीत भयो ।

२०२७ सालमा पहिलो अंक प्रकाशन भएको भएको ‘अभिव्यक्ति’ पत्रिका आजपर्यन्त प्रकाशन गरिरहेका छन् । यो पत्रिका एक प्रकारले उनको जीवनको प्रतीक बनेको छ । उनको जीवनरेखा अर्थात् ‘लाइफलाइन’जस्तै बनेको छ । अभिव्यक्ति भनेकै नगेन्द्राराज शर्मा, नगेन्द्रराज शर्मा भनेकै अभिव्यक्ति भएको छ ।

अभिव्यक्तिबाट अलग हुने उनी कल्पनै गर्न सक्दैनन् । यद्यपि उनले बेला मौकामा कतिञ्जेल प्रकाशन गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा भन्ने गरेका थिए, ‘यो मेरो शौखले निकालेको हुँ । सय अंकपछि बन्द गर्न सक्छु । मन लागेको बेला बन्द गरिदिन्छु ।’

यस्तो जवाफको आधारमा अभिव्यक्ति १०० अंकपछि बन्द हुने रे ! भन्ने हल्ला पनि चल्यो । तर उनी कसरी बन्द गर्न सक्थे, अभिव्यक्ति अर्थात् उनको आफ्नै ढुकढुकीलाई । उनले २०० औं अंक विशेषाङ्कको रूपमा प्रकाशित गरे र त्यसयता पनि उनले प्रकाशनलाई निरन्तरता दिइरहेका छन् ।

मदनमणिका पुत्र विनोदमणिले ध्रुवचन्द्र गौतमलाई सदस्य–सचिव बनाउनका लागि पितालाई दबाब दिए । मदनमणिले पुत्रमोहमा परेर धु्रवचन्द्रलाई सदस्य–सचिव बनाए । पछि नगेन्द्रराजलाई प्रज्ञा प्रतिष्ठानको प्रकाशन ‘समकालीन साहित्य’ सम्पादनका लागि आग्रह गरियो । तर आफूले पाउन लागेको पदमा आसिन ध्रुवचन्द्रको अधीनमा उनलाई सम्पादकको पद स्वीकार्य भएन । उनले अस्वीकार गरे ।

त्यसो त उनले सम्पादन–प्रकाशनको सक्रियताबाट बिदा लिने मनसाय पनि व्यक्त गरेका हुन्, तर त्यसो गर्न पनि उनले सकेका छैनन् । उनी अभिव्यक्ति मोहबाट टाढा हुन सहज छैन । एक प्रकारले सम्भव छैन । उनले अभिव्यक्तिलाई अरूको छायामा पर्न कहिल्यै दिएनन् ।

आफ्नै भाइ जगदीश घिमिरेलाई पनि उनले अभिव्यक्तिमा संलग्न हुन चाहँदा स्वीकारेनन् । यो बेग्लै कुरा हो, करिब एक वर्ष हरिभक्त कटुवाल अभिव्यक्तिको सम्पादनमा देखिए ।

तर उनले मात्र एक वर्षका लागि कागज गरेर जिम्मा दिएका थिए, हरिभक्त बेरोजगार भएकोले सहयोगस्वरूप । हरिभक्तले एक वर्ष पनि चलाउन सकेनन् र त्यसपछि अभिव्यक्तिलाई नगेन्द्रले नै सदा सम्हाले ।

नगेन्द्रराज नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभामा नियुक्त भए । मदनमणि दीक्षित उनलाई सदस्य–सचिव बनाउन चाहन्थे ।

तर मदनमणिका पुत्र विनोदमणिले ध्रुवचन्द्र गौतमलाई सदस्य–सचिव बनाउनका लागि पितालाई दबाब दिए । मदनमणि पुत्र मोहले ध्रुवचन्द्रलाई सदस्य–सचिव बनाउन बाध्य भए ।

यसले नगेन्द्रराजलाई धक्का पुग्यो ।उनलाई प्रज्ञा प्रतिष्ठानको प्रकाशन ‘समकालीन साहित्य’ को सम्पादनका लागि आग्रह गरियो ।

तर आफूले पाउन लागेको पदमा आसिन ध्रुवचन्द्रको अधीनमा उनलाई सम्पादकको पद स्वीकार्य भएन । उनले अस्वीकार गरे ।

पछि मदनमणि दीक्षित र ध्रुवचन्द्र गौतमबीच गम्भीर मतभेद भयो । प्रज्ञा परिषद् त्यसपछि मदनमणि दिक्षित र ध्रुवचन्द्र गौतमको दुई समानान्तर गुटमा विभाजित भयो ।

यो प्रकरणमा नगेन्द्रराजले मदनमणिको साथ दिए । यो प्रकरण पूरै कार्यकाल रह्यो ।

नगेन्द्रले नेपाली साहित्यमा र साहित्यिक पत्रकारितामा पु¥याएको योगदानका लागि अनेकन पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

तीमध्ये – मैनाली कथा पुरस्कार, धूस्वाँ सायमि सिर्जना पुरस्कार, नेपाल साँस्कृतिक संघ पुरस्कार, भानु भवानी घिमिरे पत्रकारिता पुरस्कार, उत्तम शान्ति विशेष सम्मान, गोपाल पाण्डे असीम पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, पद्मश्री साधना सम्मान लगायत प्रमुख छन् ।

आज उनको राष्ट्रिय अभिनन्दन हुन लागेको छ । तर योभन्दा पनि ठूलो सम्मान नेपाली साहित्यका हजारौं लेखक र पाठकले नराशलाई गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै