सुन्दर युवती, अथवा बाघ ?

धेरै पुरानो समयको कुरा हो, एकजना अर्धजंगली, अर्धबर्बर तर शक्तिशाली राजा थियो । यद्यपि सुदूर छिमेकी ल्याटिन देशले अख्तियार गरेका प्रगतिशील विचारहरूको प्रभावले गर्दा उसका विचारहरू पनि केही हदसम्म माझिएका थिए, तापनि उसभित्र रहेको बर्बर प्रवृत्तिले गर्दा ती असल विचार बाहिर व्यवहारमा कहिल्यै देखा पर्दैन थिए ।

उसका विचार लहडी थिए र कार्यव्यवहार सनकी । राजाका भनाइ र गराइबारे केही भन्नसक्ने कोही थिएन । आफूलाई ठीक लागेको कुनै पनि कुरालाई उसले लागू गथ्र्यो । घरपरिवार वा राज्य व्यवस्थाका सदस्यहरूले उसले भनेअनुसार कार्य गरे भने ऊ मित्रवत् नै रहन्थ्यो तर कतै कसैले कुनै पनि किसिमबाट राजाको इच्छा वा भनाइअनुसार काम गरेन भने आफूलाई सामान्य देखाउँदै पनि राजाले त्यस्तो व्यक्तिलाई अनौठो स्थानमा अनौठो तरिकाले सजाय दिएर आनन्द लिने गथ्र्यो । यस कारण अन्य धेरै मानिसले अनाहकमा दुःख पाइरहन्थे ।

राजाले आफूभित्र रहेको बर्बरता र असभ्यतालाई जगजाहेर गर्ने गरी अन्यत्रै देशबाट सिकेका कतिपय कुरामध्ये एउटा थियो– सार्वजनिक रंगशाला (पब्लिक एरिना) । यस ठाउँमा उसले हिंस्रक जनावर र पुरुषबीच सांघातिक भिडन्त गराउँथ्यो । यही स्थानमा गराइने गतिविधिबाट परपीडनसम्बन्धी राजाको मनोवृत्ति र मनोसंस्कार बढ्दै जान्थ्यो ।

तर यही ठाउँमा पनि पुरुषोचित उत्तेजना र बर्बर लहडीपन संयुक्त रूपमा देखा परिरहेको हुन्थ्यो । राजाले निजी मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरी नयाँ रंगशालाको निर्माण भयो । यो रंगशाला आम नागरिकले पारस्परिक हिंस्रक भिडन्तबाट मर्दै गरेका रक्तरञ्जित ग्लाडिएटर योद्धाहरूको दारुण चित्कार सुन्ने अवसर उपलब्ध गराउने स्थल थिएन, न त थियो मानवीय धार्मिक आस्था, विश्वास र भोका जनावरबीच गराइने द्वन्द्वको अवश्यम्भावी अन्त्यको दर्शन गर्न पाइने ठाउँ ।

अनेक पटक राजकुमारीले देखेकी थिई, अथवा देखेको कल्पना गरेकी थिई, अक्सर त्यो युवतीले उसको प्रेमीमाथि प्रशंसापूर्ण नजर फ्याँकिरहेकी हुन्थी, अझ कहिलेकाहीं त त्यस्तो नजर मुटुमै हान्ने किसिमको हुन्थ्यो र त्यतिबेला त्यस्तै नजर उताबाट उसले पनि पाएकी हुन्थी ।

यस स्थानले त बरु आम नागरिकको मानसिक ऊर्जा विस्तार र विकसित गर्ने लक्ष्य बोकेको थियो । यो विशाल रंगशाला आफ्ना घेराउदार गल्ली, रहस्यमय छाना र अदृश्य प्रवेश र बहिर्गमन मार्गहरूको संगमले गर्दा काव्यिक न्याय प्रदान गर्ने अब्बल सूत्रधार थियो । त्यहाँ अपराध दण्डित हुन्थ्यो । अथवा, कदाचित् निष्पक्ष एवं इमानदारीपूर्ण घोषणाद्वारा व्यक्तिको गुण पुरस्कृत पनि हुनसक्थ्यो ।

कोही यदि अपराधी ठहरियो र उसको अपराध राजाको चासो रहने गरी ठूलै स्तरको प्रमाणित हुन गयो भने निर्धारित अमूक दिन राजाको रंगशालामा त्यस अभियुक्तको भाग्य–फैसला हुनेछ भन्दै सार्वजनिक सूचना जारी हुन्थ्यो । त्यो संरचनाको नाम अर्थात् राजाको रंगशाला अत्यन्त उपयुक्त थियो किनभने यसको निर्माण र कार्ययोजना विदेशबाट आयातीत थियो । यसको उद्देश्य चाहिं त्यही एक मात्र व्यक्तिबाट प्रस्फुटित एवं उद्वोधित थियो, जुन व्यक्ति हरेक कोणबाट राजा थियो, जसले आफ्नो लहडी सनकलाई सन्तुष्ट पार्नेबाहेक अन्य कुनै परम्परा जानेकै थिएन । जसले मानवीय सोच–विचार एवं कार्य–व्यवहारहरू केवल आफ्नो बर्बर आदर्शवादलाई झन्–झन् सम्पन्न तुल्याउन मात्र अंगीकार गथ्र्यो ।

रंगशालाका गल्ली र प्यारापिटहरूमा आमनागरिक खचाखच भरिएपछि आफ्ना भाइभारदारहरूबाट घेरिएर राजा पनि त्यहाँ आइपुग्थ्यो । र, रंगशालाको एक छेउमा निर्मित भव्य शाही आसनमा विराजमान हुन्थ्यो । त्यसपछि राजाबाट केही संकेत प्राप्त हुन्थ्यो । राजा बसेको ठाउँमुनि बनेको एउटा ढोका उघारिन्थ्यो । त्यस ढोकाभित्रबाट आरोपित व्यक्ति बाहिर निस्केर रंगशालामा दृष्टिगोचर हुन्थ्यो । उसको ठीक उल्टो दिशा अर्थात् सुदूर अगाडितर्फको क्षेत्रमा उस्तै किसिमका दुईवटा बन्द ढोका सँगसँगै रहेका हुन्छन् । त्यसपछि त्यो आरोपित व्यक्ति अगाडि सर्नु पर्दछ र ती दुई ढोकामध्ये आफूले चाहेअनुसार एउटा ढोका खोल्नु पर्दछ । त्यसरी ढोका खोल्नका लागि उसलाई कुनै संकेत वा मार्गनिर्र्देशन केही दिइएको हुँदैन यद्यपि माथि उल्लेख गरिए झैं उसको गुण वा भाग्य बलियो रहेछ भने ऊ इमान्दारीपूर्ण ढंगबाट निर्दोष प्रमाणित पनि हुनसक्थ्यो । उसले पहिलो ढोका खोलेमा त्यसभित्रबाट एउटा भोको र अत्यन्तै हिंस्रक बाघ बाहिन्थ्यिो अनि तत्क्षण नै झम्टेर उसलाई टुक्राटुक्रा पारिदिन्थ्यो । त्यही नै त्यस आरोपित व्यक्तिको अपराधको सजाय हुन्थ्यो ।

अपराधीको भाग्य–निर्णय यस किसिमबाट भएपछि दुःखको संकेत गर्ने ठूला घण्ट बज्थे, भाडामा ल्याइएर रंगशालाको बाहिरी भागमा राखिएका शोक व्यक्त गर्ने एक हूल मानिसहरू चिच्याइ–चिच्याइ पीडा व्यक्त गर्थे र उपस्थित विशाल जनसमूह आफ्ना निहुरिएका टाउका अनि दमित मुटु लिएर त्यस्तो वीभत्स अन्त्य पाउन विवश तन्नेरी अथवा प्रौढ वा वृद्धप्रति शोक व्यक्त गर्दै लुरुलुरु आ–आफ्ना घरतिर लाग्थे ।

तर, यदि त्यो आरोपित व्यक्तिले अर्को ढोका खोल्यो भने त्यसभित्रबाट एउटी सुन्दर युवती बाहिरिन्थी, जो त्यस व्यक्तिको उमेर सुहाउँदो हुन्थी र स्वयं राजाले नै छनोट गरिएकी हुन्थी । त्यसपछि तत्काल निर्दोषिताको पुरस्कारस्वरूप त्यस युवतीको विवाह त्यही आरोपित व्यक्तिसित हुन्थ्यो । त्यो मानिस पहिले नै विवाहित छ छैन, उसको परिवार छ छैन अथवा उसको यस्तो नयाँ निर्णयले उसको पारिवारिक अपनत्व खल्बलिन्छ वा खल्बलिँदैन आदि कुरासित त्यस राजनिर्णयको कुनै सरोकार थिएन ।

राजाको नजरमा उसले जे गर्छ त्यो महान् न्याय थियो । त्यसलाई अन्य कुनै पनि कुराले प्रभाव पार्नु हुँदैन थियो । विवाहको प्रक्रिया पनि अरू निर्णय जस्तै तत्काल रंगशालामै सम्पन्न हुन्थ्यो । राजा बसेको ठाउँभन्दा तल्लो भागमा रहेको अर्को ढोका खोलिन्थ्यो, त्यसबाट एकजना पुरेत बाहिर निस्कन्थ्यो, पुरेतका पछिपछि सुनौला बाजा बजाउँदै र खुसियाली गीत गाउँदै एक हूल सुन्दरी युवतीहरू पनि बाहिर निस्कन्छन् । सबैजना भर्खर दोषमुक्त ठहर भएको व्यक्ति र बन्द ढोकाबाट बाहिरिएकी सुन्दर युवती एकअर्काको निकट भएर उभिएको स्थानतिर अगाडि बढ्छन् । लगत्तै उनीहरू दुईजनाबीच पूर्ण धुमधाम एवम् परम्परागत तवरको विवाह पनि सम्पन्न हुन्छ । अनि वातावरणलाई हर्ष–ध्वनिले आच्छादित बनाउँदै संगीतकारहरूले नगारा बजाउँछन्, उपस्थित जनसमूहले करतल ध्वनिसहित प्रसन्नताका हाहा र हुहु राग अलाप्छन्, किशोरकिशोरीहरूले नवविवाहित जोडी हिँड्ने मार्गमा फूल बर्साउँछन् । अनि त्यो आरोपमुक्त व्यक्ति नयाँ दुलही लिएर आफ्नो घरतिरको बाटो लाग्छ ।

यसरी न्याय निरूपण गर्ने राजाको यो अर्धबर्बर पद्धति थियो । यस किसिमको न्यायको निष्पक्षता जगजाहेर थियो । अभियुक्तलाई थाहा हुँदैन्थ्यो कुन चाहिं ढोकाबाट सुन्दर युवती बाहिर निस्कन्छे भनेर, उसले कतैबाट अलिकति पनि संकेत हासिल गर्न नसकी मन लागेअनुसारको ढोका उघार्नु पथ्र्यो र त्यसो गर्दा उसलाई लगत्तै अर्को क्षणमै आफू थुप्रै दिनदेखिको भोको बाघको शिकार बन्नुपर्ने हो अथवा विवाह गर्न पाइने हो भन्ने अलिकति पनि भेउ हुँदैनथ्यो ।

कतिपय अवसरमा त्यसरी उघारिएको एउटा ढोकाबाट बाघ बाहिर निस्कन्थ्यो त कहिले अर्को ढोकाबाट । यस किसिमले न्याय निरूपण गर्दा त्यो केवल निष्पक्ष मात्र हुँदैनथ्यो, दूधको दूध र पानीको पानी गर्ने किसिमको पनि हुन्थ्यो । किनभने, यदि अभियुक्त दोषी नै थियो भने उसले तत्काल बाघको शिकार बन्ने गरी मृत्युदण्ड पाइसक्थ्यो तर यदि ऊ निर्दोष ठहरियो भने उसले चाहे पनि नचाहे पनि ऊ तत्काल पुरस्कृत हुन्थ्यो । त्यस किसिमको निर्णय अथवा राजाको रंगशालाबाट उम्किने कुनै सम्भावना नै थिएन ।

त्यो रंगशालारूपी न्यायालय निकै चर्चित औ लोकप्रिय थियो । जतिखेर न्याय निरूपण हुने कुनै विशिष्ट निर्धारित दिन मानिसहरू रंगशालामा भेला हुन्थे, उनीहरूलाई आफू रक्तपातपूर्ण हत्या अथवा हाँसो–ठट्टाले भरिपूर्ण मनोरञ्जक विवाहमध्ये कुन चाहिं घटनाको साक्षी बन्नुपर्ने हो भन्ने सम्बन्धमा केही थाहा हुँदैन्थ्यो ।

यही अनिश्चितता नै न्याय निरूपण हुने दिनमा ठूलो जनसमूह उपस्थित गराउने आकर्षण थियो, अन्यथा निर्णयबारे पहिले नै थाहा हुने भए त्यहाँ खासै जन–उपस्थिति हुने थिएन । यस किसिमले उपस्थित जनसमूहलाई मनोरञ्जन हासिल हुन्थ्यो, उनीहरू प्रसन्न हुन्थे र त्यस किसिमबाट निरूपित निर्णयको निष्पक्षताप्रति समाजमा कसैले कुनै प्रश्न उठाउन सक्दैनथिए । किनभने, आरोपित व्यक्तिले नै आफूमाथि लागेको अभियोगविरुद्धको निर्णय–ढोका आफैंले खोल्न पाउँदैन थियो र ?

त्यस अर्धबर्बर राजाकी एउटी सुन्दर छोरी थिई । राजपिताका सनक र लहडजस्तै छोरी पनि रक्तिम आभायुक्त थिई । कुनै पनि विषयमा भित्री तहसम्म पुग्न खोज्ने जुनूनी स्वभाव थियो र अरूमाथि बलात् आफ्नो प्रभाव जमाउने जन्मजात प्रकृति थियो । त्यस कारण, यस किसिमको अवस्थामा जहाँसुकै देखिने गरेजस्तै, ऊ राजाको आँखाकी नानी थिई र राजाले दुनियाँमा अरू कसै कोहीलाई भन्दा उसैलाई सबैभन्दा बढी माया पनि गथ्र्यो । दरबारमै बसोबास गर्ने भारदारहरूमध्ये एकजना युवक पनि थियो जसको रूप–रंग र शारीरिक बनावट दरबारका सुकन्याहरूसित प्रेम–सम्बन्ध गाँस्ने किसिमको परम्परागत नायकहरू जत्तिकै सुन्दर र आकर्षक थियो ।

शाही राजकुमारी आफ्नो यस प्रेमीसित पूर्ण सन्तुष्ट थिई, किन पनि भने ऊ सुगठित शरीरको सुन्दर व्यक्तित्व थियो र सिङ्गो अधिराज्यमै सबैभन्दा अधिक शक्तिशाली पनि थियो । राजकुमारीले उसलाई गर्ने प्रेममा गहिराइ थियो, गर्मजोशी थियो र एक किसिमले शाही बर्बरताको मिश्रण पनि थियो जसले उनीहरूबीचको प्रेमलाई अझ प्रगाढ बनाएको थियो । यो प्रेम–सम्बन्ध धेरै महिनासम्म हाँसी–खुसी चलिरह्यो तर एक दिन अचानक राजालाई यस सम्बन्धबारे थाहा भयो । अनि त राजा एक निमेष पनि व्यर्थ फाल्न तयार भएन बरु ऊ आफ्नो रंगशालामा बहुप्रतिष्ठित न्याय निरूपणको दायित्व पूरा गर्न पर्दछ भन्ने अडानप्रति कत्ति हिच्किचाएन । लगत्तै राजकुमारीको प्रेमी त्यस युवकलाई कारागार चलान गरियो र राजाको रंगशालामा न्याय निरूपण गर्नका लागि भनेर दिन पनि निर्धारित गरियो । यो, वास्तवमै, एक महत्वपूर्ण अवसर थियो, किनभने मौसूफ सरकार र सम्पूर्ण जनसमुदाय पनि, यस न्याय निरूपणको सम्पूर्ण प्रक्रिया र विकासक्रमप्रति अत्यन्तै उत्सुक थिए ।

आजसम्म नै यस किसिमको कुनै घटना भएको वा मुद्दा–मामिला परेको थिएन, आजका मितिसम्म कोही कसैले पनि राजाकी छोरीसित माया गाँस्ने साहस गरेको थिएन । भलै त्यसपछिका वर्षहरूमा यस्ता घटना–प्रसङ्गहरू सामान्य हुँदै गएका थिए तर त्यस ताका यस्तो थिएन । राजपरिवार र सामान्य खलकबीच कुनै किसिमको सम्बन्ध कल्पनाभन्दा पनि टाढाको विषय हुन्थ्यो ।

अधिराज्यभरि खोज शुरु भयो, सबैभन्दा भयानक र डरलाग्दा बाघ–खोर कहाँकहाँ छन् । तीमध्ये रंगशालामा ल्याउनका लागि सबैभन्दा भयावह बाघ–दैत्यको छनोट हुने भनिएको थियो । यसका साथै सक्षम न्यायाधीशहरूमार्फत उल्लेख्य संख्यामा अधिराज्यभरिबाट युवा एवम् सुन्दर युवतीहरू पनि खोजीखोजी ल्याइयो ताकि भाग्यले अर्को मोड लिएन भने त्यस अभियुक्त युवकसित सुहाउँदो गरी पति–पत्नी जोडी मिलाउन सकियोस् । वास्तवमा त्यस युवकमाथि लगाइएको अभियोगबारे सबैजना जानकार नै थिए । उसले राजकुमारीसित प्रेम–सम्बन्ध स्थापित गरेको थियो ।

यो तथ्यलाई न त ऊ स्वयम्ले न राजकुमारीले वा न अन्य कसैले पनि इन्कार गर्न सक्थ्यो, तर राजा यससम्बन्धी न्याय निरूपण गर्ने सन्दर्भमा यस्ता कुनै पनि तर्क वा आधार अगाडि सारियून् भन्ने पक्षमा थिएन । किनभने यही न्याय निरूपण प्रक्रिया नै त थियो जसबाट उसले पर्याप्त मनोरञ्जन र अपार सन्तुष्टि लिने गथ्र्यो । फैसला जे भए पनि युवकको भारदारी पद खोसिने निश्चित थियो । र राजाले राजकुमारीसित प्रेम गरेर त्यस युवकले गल्ती गरेको थियो वा थिएन भनेर निश्चित गर्ने सम्पूर्ण न्यायिक प्रक्रियाबाट अपूर्व आनन्द लिनेवाला पनि थियो ।

न्याय निरूपणका लागि निर्धारित गरिएको दिन आयो । नजिक र टाढा सबै ठाउँबाट मानिसहरू भेला भए । रंगशालाका शानदार गल्ली–मार्ग र प्यारापिटहरू उत्सुक जनसाधारणको हूलले भरिभराउ भए । रंगशालाभित्र प्रवेश गर्न नपाएकाहरू त्यसको भित्ता र पर्खालबाहिर भए पनि एकत्रित भए । राजा र भाइभारदारहरू पनि आ–आफ्नो ठाउँमा बस्न आइपुगे । उनीहरू बसेको ठाउँ तिनै दुई ढोका भएको स्थानको विपरीत दिशामा तर ठीक अगाडि थियो जुन ढोकाहरू अभियुक्तको भाग्य–फैसला गर्ने भयानक समानता बोकेर बन्द अवस्थामा ठडिएका थिए ।

सबै तयारी पूर्ण भयो । संकेत पनि जारी भयो । राजपरिवार र भाइभारदार बसेको स्थानभन्दा तलतिर निर्मित एउटा ढोका उघारियो र त्यसबाट राजकुमारीको प्रेमी निस्केर हिँड्दै रंगशालाको मध्यभागतिर पुगेर उभियो । अग्लो, सुन्दर र स्वस्थ युवक त्यसरी देखिएपछि उपस्थित जनसमूहले उसलाई प्रशंसा र चिन्तामिश्रित हल्का ध्वनिसहित अभिवादन टक्र्यायो ।

उपस्थितहरूमध्ये आधाजसोलाई त त्यतिविधि सुन्दर, स्वस्थ र आकर्षक युवक उनीहरूबीच पनि रहेछ भन्ने रत्ति जानकारी थिएन । अनि राजकुमारीले ऊसित प्रेम गरेको भए पनि त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण देखिँदैन ! त्यस्तो युवक न्याय निरूपणका लागि भनेर रंगशालामा उपस्थित गराइनु दुर्भाग्यपूर्ण हो !

रंगशालामा अगाडि बढ्दै गर्दा, त्यति बेलाको चलनअनुसार, ऊ पछाडि फर्कियो र निहुरेर राजाप्रति सम्मानभाव व्यक्त गर्‍यो तर यसो गरिरहँदा उसले शाही व्यक्तित्वहरूबारे पटक्कै सोचिरहेको थिएन । उसका आँखा त पिताको दाहिनेतिर बसिरहेकी राजकुमारीका आँखामा केन्द्रित थिए । यदि उसको स्वभावमा बर्बरताको अंश नरहेको भए, सम्भव थियो, राजकुमारी त्यहाँ उपस्थित नहुन सक्ने थिई तर उसको आफ्नैै स्वभावजन्य अहम्, ईष्र्या र उत्सुकताले ऊ स्वयम्ले त्यतिविधि चासो लिइरहेको खास अवसरमा अनुपस्थित हुने अनुमति दिएन । त्यही विशेष दिन न्याय निरूपणका रूपमा उसको प्रेमीको भाग्य–फैसला राजाको रंगशालामा हुने घोषणा सार्वजनिक भएसँगै उसले न दिन न रात केही पनि सोचेकी थिइन, बरु केवल त्यही विशेष दिन र त्यससित सम्बन्धित विविध विषयहरूबारे मात्र सोची बसेकी थिई ।

अधिकतम शक्ति, प्रभाव र यस किसिमको मुद्दामा यसअघि यति धेरै चासो राख्ने अन्य कुनै पनि मानिसभन्दा धेरै रुचि देखाउँदै उसले त्यस्तो काम गरेकी थिई जुन काम अरू कसैले कहिल्यै गरेको थिएन– उसले रंगशालामा स्थापित दुई बन्द ढोकाभित्रको गूढ रहस्य पत्ता लगाइसकेकी थिई । उसलाई ती दुई कक्षबारे थाहा भइसकेको थियो, ती दुई ढोकाभित्र कुन चाहिंमा बाघको खुल्ला खोर थियो र कुन चाहिंमा बाहिर निस्कन तम्तयार सुन्दर युवती प्रतीक्षारत बसेकी थिई ।

ती ढोका नितान्त भारी थिए र भित्रबाट छालाले बनाइएका निकै बाक्ला पर्दा झुण्ड्याइएका थिए जसले गर्दा ती ढोका खोल्न अग्रसर हुने व्यक्तिलाई कुन ढोकाभित्र के छ भन्ने कुनै सुइँकोसम्म हुनै सक्दैन थियो । तर, स्वर्ण प्रवाह र महिलाको इच्छा–शक्तिले गर्दा ती ढोकाभित्रको रहस्य राजकुमारीको हात आइलागेको थियो ।

पहिलो ढोका खोलेमा त्यसभित्रबाट एउटा भोको र अत्यन्तै हिंस्रक बाघ बाहिन्थ्यिो अनि तत् क्षण नै झम्टेर आरोपितलाई टुक्राटुक्रा पारिदिन्थ्यो । आरोपित व्यक्तिले अर्को ढोका खोल्यो भने त्यसभित्रबाट एउटी सुन्दर युवती बाहिरिन्थी । ऊ स्वयम् राजाले नै छनोट गरिएकी हुन्थी । अनि त्यस युवतीको विवाह त्यही आरोपित व्यक्तिसित हुन्थ्यो ।

अनि, कुन ढोका खुल्नेबित्तिकै त्यसभित्रबाट रक्तिम आभायुक्त सुन्दर युवती बाहिर निस्कनेछ भन्ने मात्र होइन राजकुमारीलाई त्यो युवती को हो भन्ने पनि थाहा भइसकेको थियो । आफ्नो हैसियतभन्दा धेरैमाथि प्रेम गर्ने दुस्साहस गरेको भन्दै अभियुक्त बनाइएको त्यो युवक न्याय निरूपणको बेला निर्दोष प्रमाणित भएमा पुरस्कारस्वरूप उसैसित विवाह हुने त्यो युवती दरबारकै सबैभन्दा सुन्दर एवम् आकर्षक युवतीमध्येकै एकजना थिई । राजकुमारीमा त्यो युवतीप्रति घृणाको भाव मात्र थियो । अनेकपटक राजकुमारीले देखेकी थिई, अथवा देखेको कल्पना गरेकी थिई । अक्सर त्यो युवतीले उसको प्रेमीमाथि प्रशंसापूर्ण नजर फ्याँकिरहेकी हुन्थी, अझ कहिलेकाहीं त त्यस्तो नजर मुटुमै हान्ने किसिमको हुन्थ्यो र त्यतिबेला त्यस्तै नजर उताबाट उसले पनि पाएकी हुन्थी ।

बेलाबखत उसले उनीहरू दुईजनालाई एकआपसमा कुराकानी गरिरहेको पनि फेला पारेकी थिई । त्यस्तो कुराकानी थोरै समयका लागि मात्र भएको हुन्थ्यो तापनि छोटो समयभित्रै पनि धेरै कुरा भन्न र गर्न सकिन्थ्यो । त्यस्तो कुराकानी अत्यन्त महत्वहीन विषयमा पनि हुन सक्थ्यो तर ती कुराकानीको विषयबारे उसले कसरी थाहा पाउन सक्थी र ?

युवती सुन्दर पनि थिई र आकर्षक पनि तर उसले राजकुमारीको प्रेमीमाथि आँखा गाड्ने दुःसाहस गरेकी थिई । त्यस कारण, आनुवंशिक तवरमै आफूभित्र बगिरहेको लामो पुस्तान्तरसहितका बर्बर पुर्खाहरूको असहिष्णु रगतबाट प्राप्त गहन राग एवम् द्वेषभावले गर्दा ऊ रंगशालामा कुनै एक मौन ढोकाभित्र लज्जित एवम् कम्पित अवस्थामा उभिएकी युवतीलाई घृणा गर्दथी ।

जतिबेला उसको प्रेमी पछाडि फर्कियो र उसलाई हेर्‍यो, र दुईजनाका आँखा एकअर्कामा टक्क अडिए । प्रेमीले उसलाई त्यहाँ उपस्थित विशाल जनसमूहमा सबैभन्दा पहेंलिएकी र सेताम्मे भएर बसिरहेको ठहर गर्‍यो । साथै उसले दुई मुटु एक भएको अवस्थामा प्राप्त हुने त्वरित ग्रहणशीलताको शक्तिमार्फत थाहा पायो–राजकुमारीलाई दुई ढोकामध्ये कुन चाहिं भित्र भोको आक्रामक बाघ छ र कुनभित्र सुन्दर युवती छ । उसले राजकुमारीले त्यति तथ्य पत्ता लगाउनुपर्छ भन्ने अपेक्षा पनि गरेको थियो । उसलाई राजकुमारीको स्वभाव पनि थाहा थियो– ऊ यस विषयमा राजासमेत उपस्थितमध्ये अन्य कसैले पनि थाहा नपाएको तर आफ्नो प्रेमीको जीवनसित जोडिएको सबै रहस्य–तथ्य र वस्तुस्थितिबारे बुझी आश्वस्त भएर मात्र आएकी हुनुपर्छ ।

त्यस युवकको जीवनको एक मात्र आशा कहीं कतै थियो भने त्यो केवल राजकुमारीले पत्ता लगाएको रहस्य आफ्नो प्रेमीसमक्ष उद्घाटन गर्नुमा थियो । अनि जतिखेर उसले राजकुमारीलाई हेर्‍यो, उसले राजकुमारी आफ्नो प्रयासमा सफल भएको थाहा पायो, ऊ आत्मैदेखि राजकुमारीको सफलतामा ढुक्क भयो ।

अनि त्यसपछि उसले अत्यन्त शीघ्र एवम् चिन्तित नजरसहित राजकुमारीलाई सोध्यो, ‘कुन चाहिं ?’ यो सपाट, मौन र सांकेतिक प्रश्न थियो तर राजकुमारीका लागि मानौं उसले रंगशालामा आफू उभिएको ठाउँबाटै चिच्याएर सोधेको थियो । गुमाउनका लागि एक क्षण पनि थिएन । प्रश्न अत्यन्त हतारोमा सोधिएको थियो, त्यसको जवाफ पनि त्यसै गरी दिनुपर्ने आवश्यकता थियो ।

उसको दाहिने हात उसकै अगाडि राखिएको बालिष्ट (कुसन) माथि थियो । उसले आफ्नो हात माथि उठाई र हलुकासँग तर छिटो दाहिनेतिर संकेत गरी । अरूले कसैले पनि उसलाई यसो गरेको देखेन, सिवाय उसको प्रेमीले । उसको बाहेक उपस्थित सबै आँखा रंगशालाभित्र उभिएको त्यही युवकमाथि एकाग्र केन्द्रित थिए ।

ऊ घुम्यो र  सशक्त एवम् शीघ्र पाइला चाल्दै रिक्त स्थानतिर लम्कियो । मानौं उपस्थित हरेक हृदयको चाल थामियो, सबैको सास रोकियो र सबै आँखाहरू त्यही युवकमाथि एकटक अडिए । अलिकति पनि हिच्किचाहट नदेखाउँदै ऊ दाहिनेतिरको ढोकासामु पुग्यो र त्यही ढोका खोल्यो ।

अब, यहाँनिर पुगिसकेपछि, कथाको मूल मुद्दा हो– त्यस बन्द ढोकाभित्रबाट बाघ बाहिर निस्क्यो, अथवा, सुन्दर युवती ?

हामी जतिजति यस प्रश्नमाथि घोत्लिँदै जान्छौं, त्यति–त्यति नै यसको जवाफ पाउन कठिन हुँदै जान्छ । यसको जवाफमा मानव–हृदयको त्यो एउटा पाटोको अध्ययन पनि मिसिएको छ जसले हामीलाई संवेदनाका अनेक सचेत मार्गहरूबाट हिँडाउँदै अगाडि लैजान्छ र जसबाट उचित मार्ग पहिल्याउन झन् कठिन हुनपुग्छ ।

यसबारे सोच्नुस्, सुधी पाठकगण, यस प्रश्नको जवाफ स्वयम् तपाईंमाथि नै निर्भर छ भनेजस्तो गरी होइन बरु त्यस उष्ण रक्तपूर्ण अर्धबर्बर राजकुमारीमाथि निर्भर छ । जसको हृदय निराशा र ईष्र्याको संयुक्त अग्निकुण्डमा जलिरहेको छ । उसले त्यस युवकलाई गुमाइसकेकी छ तर त्यसलाई कसले पाएको छ त ?

कति धेरैपटक, जागिरहेको बेलामा र सपनाहरूमा समेत, ऊ भयावह सन्त्रासबीच अनि आफ्ना हातहरूले अनुहार छोपेर सोच्न बस्थी । उसलाई सोचाइ आउँथ्यो– उसको प्रेमी अगाडि सरेर ढोका उघार्छ तर ढोकाभित्र आफ्ना डरलाग्दा लामा दाँत देखाउँदै नरभक्षी बाघ उसैलाई कुरेर बसिरहेको छ !

तर उसले आफ्नो प्रेमीलाई कतिपटक अर्को ढोकासामु देखेकी होली ! कतिपटक उसले प्रेमीसित बिछोडको दुःस्वप्नमा दाह्रा किटेर बसेकी होली ! कतिपटक कपाल लुछेर बसेकी होली ! यो सबै त्यो बेलाको परिस्थिति हो, जतिखेर उसले आफ्नो प्रेमीलाई अत्यन्त प्रसन्नतापूर्वक सुन्दर युवती भएको ढोका खोल्न अग्रसर भएको कल्पना गरिरहेकी हुन्थी !

उसको हृदय पीडा, निराशा र औडाहाले कतिविधि पोलेको होला जतिखेर उसले आफ्नो प्रसन्न एवम् गर्वित प्रेमीलाई बन्द ढोकाभित्रबाट बाहिरिएकी रक्त आभा–मण्डित युवतीसित भेट्न हतार–हतार अगाढि बढिरहेको देखेकी हुन्थी ! जतिखेर उसले आफ्नो प्रेमीलाई त्यस सुन्दर युवतीलाई डोर्‍याइरहेको औ उसको सारा शरीर पुनर्जीवन प्राप्तिपछिको हर्ष एवम् उन्मादले प्रफुल्लित भइरहेको पाउँथी ! जतिखेर उसले उपस्थित जनसमुदायबाट हुने समवेत हर्षातिरेक ध्वनि सुन्थी र आनन्द–द्योतक घण्टहरूको सिंहनाद सुनिरहेकी हुन्थी ! जतिखेर उसले पुरेत र उसका प्रसन्नचित्त अनुचरहरू भर्खर पुनर्जीवन पाएको युवक र बन्द ढोकाभित्रबाट बाहिरिएकी युवतीको जोडीसमक्ष पुगेर उसकै आँखासामु ती दुईजनालाई पति–पत्नी घोषणा गर्नका लागि सम्पूर्ण धार्मिक संस्कार नै सम्पन्न गरिरहेका हुन्थे ! अनि जतिखेर उसले त्यस नवजोडीको मार्गमा पुष्प–वृष्टि गरिरहेको देख्दछे र उपस्थित जनसमूहबाट उरालिएको आल्हादपूर्ण आशीर्वचनले वातावरण नै गुञ्जायमान भइरहेको देख्दछे र, स्वयम् उसको निराश एवम् क्षुब्द चीत्कार त्यस कोलाहलभित्र कतै हराएको थियो !

के त्यस युवकका लागि झ्याप्पै मरिहाल्नु र अर्धबर्बर भविष्यको सुशासनमा गएर आफ्नी मायालुको प्रतीक्षा गर्दै बस्न पुग्नु नै बेस हुने थिएन ?

यसो हुँदाहुँदै पनि, त्यो डरलाग्दो बाघ, ती मर्मान्तक चीत्कार, त्यो रगत !

उसको निर्णय त्वरित रूपले नै सांकेतिक तवरबाट बाहिरिएको थियो तर उसलाई निर्णयको त्यो क्षण धेरै दिन र रातहरूको पीडा, औडाहा र गम्भीर सोच–विचारपछि मात्र प्राप्त भएको थियो । उसलाई थाहा थियो, कुन ढोकाभित्र के छ भनेर उसलाई सोधिनेछ । आफूले के जवाफ दिने भनेर उसले स्वनिर्णय पनि गरिसकेकी थिई र, कुनै रत्तिभर हिच्किचाहटबिना, उसले आफ्नो हातले दाहिनेतिर संकेत गरेकी थिई ।

उसले गर्ने निर्णय हल्का ढङ्गले लिइने कुरा होइन । अझ मेरा लागि त यस प्रश्नको जवाफ दिन सक्ने एक मात्र व्यक्तिका रूपमा आफूलाई उभ्याउनु पनि उचित होइन । र, त्यसकारण मैले यो प्रश्न तपाईं सम्पूर्ण पाठकहरूसमक्ष नै छाड्न उचित ठानिरहेको छु ः त्यस युवकले उघारेको ढोकाबाट को चाहिं बाहिर निस्कियो– सुन्दर युवती, अथवा डरलाग्दो भोको बाघ ?

(तत्कालीन ‘द सेन्चुरी’ पत्रिकामा सन् १८८२ मा ‘द लेडी, अर द टाइगर’ शीर्षकमा पहिलोपटक छापिएको प्रस्तुत कथा अमेरिकी साहित्यमा उम्दास्तरको क्लासिक कथा मानिन्छ । पाठकलाई सम्मोहित पार्ने ‘एलेगोरिकल एक्सप्रेसन’ कथाको एक ज्वलन्त उदाहरण मानिने यो कथा उत्कर्षमा एउटा रहस्य नसुल्झाइकन समाप्त भएको छ । पाठकले आ–आफ्नो ढङ्गबाट ग्रहण गर्न सक्ने गरी वर्णित भएकाले यसको सफलता पनि त्यही हो ।)

नेपाली अनुवाद– जयदेव गौतम

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै