कथा संसार हेर्ने आँखीझ्याल मात्र होइन !

स्रष्टा र सृष्टिको कुरा भइसकेपछि ‘पारिस्थितिकीय’को कुरा आउँछ । मार्क्सको प्रसिद्ध कथन छ– इतिहास सृष्टि हो भने, व्यक्ति पात्र । तर व्यक्तिले आफूले खोजेकै परिस्थिति बनाउन सक्दैन । पारिस्थितिकीयका पनि धेरै बाध्यता हुन्छन् । जसबाहिर इतिहास निर्माणको काम सम्भव हुँदैन ।

त्यस अर्थमा ‘कालजयी’ भनिएका रचना पनि खासमा ‘समसामयिक’ नै हुन्छन् । कालजयी रचनाको अर्थ के हो भने त्यसमा समसामयिकता लामो भयो भने कालजयी हुन्छ । किनभने मान्छेका भावना, उद्वेग परिवर्तन हुँदैनन् । यस्ता भावना र उद्वेगहरू पनि पारिस्थितिकीयकै उपज हुन् ।

कथा लेखनबारे कुरा गर्दा कथालाई ईश्वर बरालले ‘आँखीझ्यालबाट संसार चिहाएको’ रूपमा व्याख्या गरेका छन् । तर झ्याल कहाँको हो, कसरी हेरियो त्यसले फरक पार्छ । जस्तो हामी असन बजार गयौं भने त्यहाँ त हजारौं मानिस छन् । त्यहाँ हाम्रो मित्र वा नाता पर्ने कोही छ भने आँखा शुरूमै त्यहीं पर्छ । यसैले संसार कस्तो हेर्न चाहेको हो, आफूले त्यसरी नै हेर्ने हो ।

साहित्य समाजको ऐना हो भनिएको छ । ऐना हो भने कस्तो ऐना हो ? एकदम सफा (झ्याल–ढोकामा राखिने) ऐना कि, हामीले आफ्नो अनुहार हेर्ने ऐना हो ?

म काठमाडौं आउँदाको सन्दर्भ मलाई याद छ । त्यतिबेला राजमार्गमा घरहरू कम थिए । कलंकीबाट काठमाडौं झर्दा उज्यालो काठमाडौं देखिन्थ्यो । उपत्यका हेर्दा स्वर्गको अनुभूति हुने खालको थियो । अहिले समय बदलिएको छ, काठमाडौं हेर्दा केवल वायुमण्डलको प्रदूषण मात्र छ ।

अर्को परिभाषामा साहित्य समाजको ऐना हो भनिएको छ । ऐना हो भने कस्तो ऐना हो ? एकदम सफा (झ्याल–ढोकामा राखिने) ऐना हो कि, हामीले आफ्नो अनुहार हेर्ने ऐना हो ? अनुहार हेर्नेमा हे¥यो भने त्यसमा देखिने आफ्नै अनुहार मन पर्छ ।

पहिला–पहिला सर्कसमा जाँदा मोटो मान्छे दुब्लो देखिने अनि पातलो मान्छे मोटो देखिने विचित्रको ऐना हुन्थ्यो । ती ऐनाको कोण मिलाएर त्यस्तो बनाइएको हुन्थ्यो । माइक्रोस्कोप पनि ऐना नै हो । यसैले कस्तो ऐना हो त्यहीअनुसार प्रतिबिम्ब देखिन्छ ।

अर्को के पनि भनिएको छ भने, समाजलाई बुझ्न सारा संसार बुझिरहनु पर्दैन । जस्तो कि समुद्रको पानी नुनिलो हुन्छ भन्ने थाहा पाउनलाई समुद्र पिउनु पर्दैन, अलिअलि मुखमा हाले हुन्छ । यो पनि सत्य होइन, किनभने कुन समुद्रको पानी हो त्यसले फरक पार्छ । बिहानको समुद्रको पानी हो कि रातिको, तिर्खा लागेको बेला हो कि, त्यसै पिएको त्यसले पनि फरक पर्छ ।

कथा लेखनमा पनि यस्ता जटिलता छन् तर हामीलाई कथा लेख्नु बडो सजिलो जस्तो लाग्छ । कथाकारले हेर्ने नै हो तर कसको दृष्टिले हेर्ने हो, त्यसले फरक पार्छ । महाभारतमा बर्बरिकले के देख्छ भने लड्ने पनि कृष्ण, लडाउने पनि कृष्ण । पक्ष पनि कृष्ण, विपक्ष पनि कृष्ण । सञ्जयले पनि युद्ध हेर्छ र धृतराष्ट्रलाई निवेदन गर्छ । सञ्जयले केवल गतिविधि मात्र हेरिरहेको हुन्छ ।

कृष्ण त कृष्ण नै हुने भए । उनको दृष्टिकोणले तथाकथित सत्यको विजय, असत्यको हार बोकेको हुन्छ । प्रत्येक योद्धाले युद्ध हेरिरहेको हुन्छ । सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा, जुनसुकै समयमा पनि शक्ति–संघर्ष भइरहेको हुन्छ । परिवार, समाज, राज्यमा शक्ति–संघर्ष हुन्छ । शेक्सपियरदेखि, व्यास, वाल्मीकिसम्मले शक्ति–संघर्षको कथा भनेका छन् । कथाको भाषामा यसलाई द्वन्द्व (कन्फ्लिक्ट) भनिन्छ । द्वन्द्व यसै त हुँदैन । व्यक्तिगत, सामाजिक, राजनीतिक द्वन्द्व हुन्छ । त्यसमध्ये कथाकारले कुन द्वन्द्व प्राथकिकतामा राख्छ, त्यसले कथालाई प्रभावित गर्छ ।

राजनीतिक प्रकृतिको चित्रणमा सबै व्यास हुँदैनन्, शेक्सपियर हुँदैनन् । यसको सीमितता के भइदिन्छ भने प्रत्येक व्यक्ति जतिसुकै अराजक भए पनि सीमामै हुन्छ । बीपी कोइरालाले ‘म अरू ठाउँमा अनुशासित भए पनि साहित्यमा अराजक छु’ भनेका थिए । तर उनी पनि साहित्यमा त्यसरी अराजक भएको देखिंदैन । अराजकताका सीमा सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विमर्शले तोकिदिएको हुन्छ । अतः अराजकताको पनि सीमा हुन्छ ।

आँपको स्वाद कस्तो हुन्छ भनेर जति व्याख्या गरे पनि तपाईंले आँप नखाई त्यसको स्वाद पत्ता पाउनुहुन्न । यसरी हेर्दा भाषाको पनि आफ्नै सीमितता छ । जुनसुकै सम्पन्न भाषामा पनि १० लाखभन्दा बढी शब्द नहोलान् । नेपाली भाषाका शब्द जोडेर जति भने पनि मान्छेका अनन्त भावना समेट्न गाह्रो पर्छ । शब्दले कति नै भन्न सकिएला !

तर हरेक कथामा उत्कृष्टता तब आउँछ, जब जीवनका रसहरूको अनुभव त्यो कथामा आउँछ । जीवनका रस भन्नाले रगत, पसिना, पिसाब, जल, कामरस, आँशु…।

कामरस, जसबाट सृष्टि चलेको छ, त्यो कथामा छ कि छैन ? पिसाब जीवनको रस हो त्यो कथामा छ कि छैन ? जीवन देखिने तरल कुरा साहित्यमा छ कि छैन । जस्तो शोककाव्यमा आँशु हुन्छ । पसिना पनि त तरल कुरा नै हो ।

अनि कथा कस्तो छ भनेर हेर्दा त्यसभित्रको पात्रको चरित्र हेरिन्छ । चरित्रहरूबीच हुने संघर्ष हेरिन्छ । यी सबै कुरा ख्याल गरे मात्र कथाबारे बुझ्न सकिन्छ । कथामाथि मन्थन गर्न सकिन्छ ।

(सीके लालले कथाकार श्याम साहको कथासंग्रह ‘पथेर’को लोकार्पणमा कथा लेखनमाथि गरेको विमर्शबाट)

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै