यसरी हुँदैछ ओली सरकारमा कमल थापाको ‘इन्ट्री’

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राप्रपालाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

कांग्रेस नेतृत्वमा रहेको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सुरु गरेको संयुक्त संघर्षलाई चुनावसम्म निरन्तरता दिने तयारी गरिरहेका बेला त्यसको ‘काउन्टर’मा ओलीले आफ्नो नेतृत्वमा अर्को गठबन्धन बनाउन लागेका हुन्।

पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा ओली नेतृत्वमा सरकारमा जाने चर्चा चलेको छ। भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेका प्रधानमन्त्री ओलीले थापालाई परराष्ट्रमन्त्री बन्न आग्रह गरेको चर्चा छ ।

पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चुनावमा खटाएर परराष्ट्रमन्त्रीमा थापालाई ल्याउनेसम्मको तयारी अघि बढेको चर्चा पनि छ ऽ नाकावन्दीका बेला परराष्ट्रमन्त्रीका रुपमा थापाले खेलेको भूमिकाप्रति सन्तुष्ट रहेका ओलीले थापालाई अहिले पनि मन्त्री बन्न आग्रह गरेको बताइन्छ ।

थापालाई सरकारमा लैजान सके चुनावमा हिन्दुवादीहरुको मनोविज्ञान क्यास गर्न सकिने विश्वासका साथ ओलीले राप्रपासँग सम्बन्ध बढाउन खोजेको टिप्पणीसमेत हुने गरेको छ ।

अध्यक्ष थापाले आफू मन्त्री बन्न सक्ने परिस्थिति नबने दीपक बोहोरालाई पठाउन खोजेका छन्। कतिपय नेताहरुले भने विघटित प्रतिनिधिसभामा विजयी एक मात्र सांसद राजेन्द्र लिङदेनलाई अवसर दिनुपर्ने पक्षमा छन्।

एमाले नेता सुवास नेम्वाङका अनुसार राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन प्रधानमन्त्री ओलीले सबै दलसँग छलफल गरिरहेका छन् । ‘राप्रपा लगायतका दलसँग पनि छलफल भइरहेको छ, राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीले विभिन्न दलसँग छलफल जारी राख्नुभएको छ,’ नेम्वाङले थपे।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै