चीनपछि अस्ट्रेलियामा मकैका खोस्टाको झोला बेच्दै देविका

झापाकी देविका बुढाथोकीलाई निषेधाज्ञामा पनि भ्याइनभ्याइ छ। असार दोस्रो साताभित्र अस्ट्रेलिया सामान पठाउनुपर्ने भएकाले उनी त्यसैको तयारीमा छिन्।

देविका मकैको खोस्टाबाट थरीथरीका झोला, म्याट, ह्याट, डाइनिङ म्याट, खेलौना, किरिङ लगायत विभिन्न सामान बनाउँछिन्। उनले बनाएका विदेशमा बिक्री हुन्छन्। पहिले चीनमा मात्र निकासी हुँदै आएकोमा अहिले अस्ट्रेलियामा पनि पठाउन थालेको उनले बताइन्।

‘यसपालि दुई हजारवटा झोला अस्ट्रेलिया पठाउँदैछु,’ उनले भनिन्, ‘यो लकडाउनभरि त्यसैको प्याकेजिङमा व्यस्त भएँ।’

देविकाले यो व्यवसाय सुरू गरेको तीन वर्ष भयो। उनी व्यावसायिक सिलसिलामा चीन भ्रमणमा गएकी थिइन्। चीन जाँदा मकैको खोस्टाबाट आफैंले बनाएको हाते झोला बोकेकी थिइन्।

कार्यक्रममा आएका धेरै चिनियाँले उनको झोला मनपराए। कतिपयले सोधिखोजी गरे। आफूहरूलाई पनि त्यस्तै झोला बनाइदिन भने। देविकाले त्यो बेलासम्म यस्ता झोला एकाध मात्र बनाएकी थिइन्, त्यो पनि एक्लै।

उनले ‘म एक्लैले बनाउने हो, धेरै बनाउन सक्दिनँ’ भनपछि चिनियाँहरूले ‘जति सक्छौ त्यति बनाएर पठाइदेऊ’ भनेछन्।

यसले देविकालाई आफ्नो सीप तिखारेर व्यावसायिक रूप दिन हौस्यायो। त्यति बेलासम्म उनी बुटिक खोल्ने सोचमा थिइन्। त्यो चीन यात्राले उनको जिन्दगीको बाटै फेरियो।

उनले ‘रिजनल ह्यान्डीग्राफ्ट’ दर्ता गरिन् र सुरूमा थोरै झोला बनाएर चीन पठाइन्। विस्तारै माग बढ्दै गयो। चीनबाट मात्र वार्षिक दस लाख झोलाको माग आयो। उक्त माग पूरा गर्न उनले झोलाका विभिन्न डिजाइनबारे तालिम लिइन्। विभिन्न जिल्लाका दिदीबहिनीसँग सहकार्य गरिन् र उनीहरूलाई झोला बनाउन सिकाइन्।

तर, सबै योजना सोचेजस्तो हुँदैन।

पछिल्लो डेढ वर्षदेखि कोरोना महामारीका कारण तालिम र उत्पादन दुवै प्रभावित भएकाले चीनबाट आएको वार्षिक मागको ५ प्रतिशत मात्र पूरा गर्न सकेको उनी बताउँछिन्। ‘हिसाब गर्ने हो भने हामीले एक वर्षमा ४८ हजार वटा मात्रै पठाउन सकेका रहेछौं,’ उनले भनिन्।

यस्तो कसरी भयो त?

हाम्रो यो प्रश्नमा उनले भनिन्, ‘मैले चिनियाँ अर्डरअनुसार सामान उत्पादन गर्न दुई हजार जनालाई तालिम दिने सोच बनाएकी थिएँ। महामारीले सबै योजना भताभुंग भयो। जम्मा दुई सय जनालाई तालिम दिन सकेँ।’

उनले अगाडि भनिन्, ‘एकैचोटि ठूलो स्तरमा तालिम कार्यक्रम सञ्चालन गर्न हामीसँग धेरै पुँजी थिएन। त्यसैले थोरै थोरै संख्यामा तालिम दिँदै थिएँ। कोरोना महामारी र लकडाउनले त्यो पनि रोकियो।’

भनेजति अर्डर पूरा गर्न नसके पनि चीनमा सामान पठाउन बन्द चाहिँ भएको छैन। जति उत्पादन गर्न सकिन्छ, त्यसैअनुसार पठाउँदै जाने गरी चिनियाँ पक्षसँग फेरि तीन वर्षको सम्झौता भएको उनले जानकारी दिइन्।

‘पछिल्लो लकडाउनकै बीचमा हामीले चिनियाँ पक्षसँग अनलाइन सम्झौता गर्‍यौं,’ देविकाले भनिन्।

यसबीच उनले अस्ट्रेलियामा पनि सामान पठाउन सुरू गरेकी छन्। उनका अनुसार चीनको तुलनामा अस्ट्रेलिया पठाउँदा नाफा बढी हुन्छ। चीनले एउटा झोलाको एक हजार छ सय पचास रूपैयाँ दिन्छ भने अस्ट्रेलियामा झन्डै दुई हजार पाँच सय रूपैयाँ पाइन्छ।

आफैंले चीन पठाएको झोलामा नयाँ स्टिकर टाँसेर अस्ट्रेलिया निकासी गरिएको थाहा पाएपछि उनले सिधै आफैं पठाउने सोचेकी हुन्।

‘मैले बनाएका झोलामा उनीहरूले थप केही गरेका छैनन्, स्टिकर मात्र टाँसेर उता पठाएका छन्,’ उनले भनिन्, ‘त्यति एउटा स्टिकर टाँसेर धेरै आम्दानी हुन्छ भने म आफैंले किन नपठाउने भनेर लागेकी हुँ।’

देविकाले बनाउने झोलाको लागत एक हजार चार सय रूपैयाँ हो। प्रतिगोटा छ सय रूपैयाँ आफूसँग सहकार्य गरेका महिलालाई दिन्छिन्। चीनमा झोला बेच्दा नाफा कम भएकाले ती महिलालाई धेरै पैसा दिन नसकेको उनी बताउँछिन्।

‘धेरै सामान पठाउन सकेको भए थोरै मूल्यमा पनि काम गर्न सकिन्थ्यो। परिमाण पनि कम, मूल्य पनि कम हुँदा हामीलाई नाफा नै बसेन,’ उनले भनिन्, ‘काम गर्नेलाई पैसा बढाउन पनि सकेनौं।’

देविकाले मकैको खोस्टा मात्र होइन, ग्राहकको मागअनुसार कहिले पराल, कहिले थाकल लगायत विभिन्न प्राकृतिक स्रोत प्रयोग गरेर पनि सामान बनाउँछिन्।

‘कच्चापदार्थ अभाव छैन। हामीलाई चाहिने कच्चापदार्थ गाउँघरतिर प्रशस्तै पाइन्छ। के–कस्ता चिज प्रयोग गरेर सामान बनाउन सकिन्छ भनेर हामीले जुमबाट पनि दिदीबहिनीहरूलाई जानकारी दिइरहेका छौं,’ उनले भनिन्।

यो व्यवसाय अझै विस्तार गर्न सके गाउँ-गाउँका महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउन सकिने उनको भनाइ छ। यसका निम्ति सरकारले तालिम कार्यक्रम र झोलामा रङ भर्ने मेसिनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ।

देविकाले मकैको खोस्टाबाट झोला बनाउन कसरी सिकिन् त?

केटाकेटीदेखि नै सिलाइबुनाइ गर्न सोखिन उनलाई नयाँ नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्थ्यो। उनी आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्। ती झोला देखेर साथी र आफन्तले ‘आहा, कस्तो राम्रो, मलाई पनि बनाइदेन’ भन्थे। यसरी घरमा खेर गएका मकैको खोस्टा, पराल, थाकल लगायत सामानबाट झोला बनाउनु उनको दैनिकी बन्यो।

२०४१ सालमा इलामको नाम्सालिङमा जन्मेकी देविका परिवारकी जेठी सन्तान हुन्। उनका एक भाइ छन्। पछि उनीहरू सपरिवार झापा सरे। २०५० सालमा क्यान्सरका कारण आमाको मृत्यु भएपछि बुवा पनि बेपत्ता भए। त्यो बेला पाँच वर्षीय भाइलाई फुपूको जिम्मा लगाएर उनी छिमेकीको घरमा बसिन्। उनको पढाइ बीचमै छुट्यो।

‘म कक्षामा सधैं पहिलो हुन्थेँ। पढाइ राम्रो भएकाले कक्षा उक्लिएकी थिएँ। नौ वर्षको हुँदा त आठ कक्षा पढ्थेँ,’ उनी भन्छिन्।

अर्काका घर बसे पनि उनलाई कहिल्यै ‘काम गर्ने’ को दर्जामा नराखिएको उनी बताउँछिन्। देविकाका निम्ति अहिले माइती त्यही घर हो। बेलाबेला आउजाउ गर्छिन्।

‘म बसेको घरका दुई छोरी थिए। एउटी छोरी पछि विदेश गइन्,’ उनी भन्छिन्, ‘मलाई पनि बाहिर जाऊ भन्नुहुन्थ्यो। तर मलाई यहीँ केही काम गर्छु भन्ने थियो।’

त्यो परिवारले एक दिन सोध्यो, के काम गर्छ्यौ त?

त्यही बेला उनले भनेकी थिइन्, सिलाइकटाइ गर्छु। उनका अनुसार त्यो समय सिलाइको काम खुब चलेको थियो। महिलाहरूलाई आम्दानीको बाटो भएकाले प्रायः घरका छोरी सिलाइ सिक्थे। २०५४ सालमा वडा कार्यालयले नै सिलाइ सिकाउने कार्यक्रम ल्यायो। छ महिने उक्त तालिम एक–एक महिनामा बाँडिएको थियो। यसका लागि ८० रूपैयाँ तिर्नपर्थ्यो।

देविकाको रहरले पखेटा पायो।

‘मैले एकदमै चाँडो सिकेँ। एउटा महिनाको काम सिक्न मलाई दुई–तीन दिन मात्र लाग्यो,’ उनी भन्छिन्, ‘पूरा छ महिने कोर्स मैले २६ दिनमै सकेँ।’

चाँडै काम सिकेको देखेर प्रभावित भएका तालिम शिक्षकले देविकालाई आफ्नो सिलाइ मेसिन उपहार दिए। तालिमपछि सिलाइकटाइ नै देविकाको आम्दानीको स्रोत बन्यो। उनले जागिर पनि पाइन्।

सानैदेखि काममा सक्रिय देविकाको बिहे पनि चाँडै भयो, १६ वर्ष टेक्दा–नटेक्दै।

उनी बिहे चाँडो गर्नुको कारण खुलाउँछिन्, ‘२०५६ सालमा भर्खर १६ लागेकी थिएँ। आमाबुवा नभएकी छोरीलाई जोगिएर हिँड्नै गाह्रो भएपछि कलिलैमा बिहे गर्ने निर्णय गरेँ। अहिले सम्झिँदा त्यति ठूलो निर्णय त्यति सानो उमेरमा कसरी गर्न सकेँ जस्तो लाग्छ।’

शनिश्चरेका बुढाथोकी थरका उनका श्रीमान ठेक्कापट्टाको काम गर्थे, उनले भनिन्, ‘त्यतिखेर झापामा हाम्रो परिवारको ठूलै नाम थियो। ठूला घरकी बुहारी, टेलर चलाउन गाह्रै भयो।’

तै उनलाई श्रीमानको साथ रह्यो। २०५७ सालमा शनिश्चरे बजारमा एउटा मेसिन राखेर सिलाइ पसल खोलिन्। टेलर राम्रो चल्थ्यो।

‘जस्तो भन्यो त्यस्तै सिलाइदिने भएकाले भीड हुन्थ्यो,’ उनले भनिन्, ‘कोटबाहेक म सबै सिलाउँथेँ। बच्चाको कोट त बनाउँथेँ, ठूलाको भने त्यति माग नहुने भएकाले चासो पनि दिइनँ।’

देविकाले सिलाइ सिकाउन पनि थालिन्। तीन महिने कक्षा दिन्थिन्। एक जनाले १२ हजार तिर्नुपर्थ्यो।

‘आफूले सिक्दैदेखि कहिले अरूलाई सिकाउने होला भन्ने सोच्थेँ,’ उनी थप्छिन्, ‘मैले जतिलाई सिकाएँ, उनीहरू सबैले पसल खोलेको देख्दा खुसी लाग्छ।’

काम राम्रो भएपछि उनले १३ वटा मेसिन र ११ जना कामदार राखिन्। विस्तारै उनी निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाहरूमा आबद्ध भइन्। उद्योग वाणिज्य संघ, शनिश्चरेको पहिलो महिला सदस्य बनिन्। अहिले उद्यमशील महिला महासंघको अध्यक्ष छिन्।

यही क्रममा चीन भ्रमणमा गएपछि मकैको खोस्टाबाट झोला बनाउने व्यावसायिक यात्रा सुरू भएको हो।

देविकाका अनुसार मकैको खोस्टाबाट बन्ने झोलामा राखिने फूलबुट्टा नेदरल्यान्ड्सबाट आउँछ। यो बुट्टा नेपालमै पनि बन्छ, तर चिनियाँको मागअनुसार आयात गर्नुपरेको उनी बताउँछिन्।

उनले अहिलेसम्म यस्तो झोला नेपाली बजारमा बिक्री गरेकी छैनन्। अनुकूल वातावरण बनेपछि उत्पादन बढाएर स्वदेशी बजारमा पनि बिक्री गर्ने उनको योजना छ।

‘मलाई सानैदेखि नेतृत्वदायी भूमिकामा काम गरौं भन्ने लाग्थ्यो। ११–१२ वर्षको उमेरमा सिलाइ सिकिरहँदा आफू कहिले सिकाउनसक्ने हुन्छु होला भन्ने लाग्थ्यो,’ देविका भन्छिन्।

‘आज म नयाँ खालको झोला बनाएर चीनदेखि अस्ट्रेलियासम्म पठाउन थालेकी छु। यसलाई अझ विस्तार गर्दै लैजाने मेरो उद्देश्य छ। मेरो सपना पूरा भएको छ।’

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै