दीपा नेपालीलाई आमाले भनिन्- बरू मर्न तयार हुनू, तर नझुक्नू!

दीपा नेपालीलाई थरकै कारण डेराबाट निकालिएको विवाद गृह मन्त्रालय पुगिसकेको थियो। उनी आफूमाथि भएको जातीय विभेदको विवरण सुनाउन मन्त्रालयमा हाजिर भएकी थिइन्।

२०७६ फागुन २६ गते मन्त्रालयमा आफ्ना कुरा सुनाएर निस्किँदै गर्दा दीपालाई कैलालीबाट आमा पार्वतीको फोन आयो।

उनले डेरामा भएको ज्यादतीबारे आमाबालाई केही बताएकी थिइनन्। आमाले आफैं समाचार सुनेर फोन गरेकी थिइन्।

फोनमा आमाले भनिन्, ‘समाचार पढेँ, तिमीहरूलाई त त्यस्तो भएको रैछ है?’

‘हो,’ दीपाले भनिन्, ‘हामीलाई भेदभाव गर्नेलाई कारबाही हुनुपर्छ भन्न म अहिले गृह मन्त्रालय आएकी छु।’

आमाले सम्झाइन्, ‘तिमीहरूलाई थाहा छ नि, हामी यही जातीय भेदभावविरूद्ध लड्दा घर छाडेर तराई झर्नुपरेको हो। आफ्नो पुर्ख्यौली घरबाट विस्थापित हुनुपरेको हो। हामीले जस्तो नियति भोग्नु नपरोस् भनेर नै तिमीहरूलाई पढायौं, लेखायौं, केही बन्न काठमाडौं पठायौं। त्यहाँ पनि तिमीहरूमाथि त्यस्तो भयो?’

दीपाले आमाको कुरा चुपचाप सुनिरहिन्।

आमाले अगाडि भनिन्, ‘तिमी हाम्री छोरी हौ, लड्नुपर्छ भन्ने थाहा छ नि। कसैगरी पछि नहट्नू है।’

दीपाले आफूमाथि भएको जातीय विभेदविरूद्ध घरबेटीसँग लड्न थालेको तीन महिना भइसकेको थियो। एक्लै लड्नुपर्दा दीपाको ऊर्जा मुर्झाउन थालेको थियो। आमाको कुराले उनको मनमा आत्मबलको दीप जल्यो। निभ्न निभ्न आँटेको दियोमा कसैले तेल थपिदिएझैं भयो।

२८ वर्षीया दीपा सानैदेखि आमाबाको संघर्षकथा सुन्दै हुर्किएकी हुन्। कैलालीको मोहोन्याल गाउँपालिकास्थित खिमडीमा उनीहरूको घर थियो। उनका बा भीमबहादुर बाल्यकालदेखि आफूले भोगेको विभेदको कथा सुनाउँथे। कहिले हजुरबुवाको कथा पनि सुनाउँथे।

दीपाका बुवालाई पढ्ने असाध्यै रहर रहेछ। तर, उनले जातकै कारण पढ्न पाएनन्।

भीमबहादुर स्कुलै नगएका होइनन्। सुरू सुरूमा स्कुल जाँदा गाउँभरिका बच्चालाई बस्ने ठाउँ एउटा थियो, उनले भने अरूभन्दा छुट्टै ठाउँमा बस्नुपर्थ्यो। गाउँमा कथित माथिल्लो जातिको घरमा जाँदा जसरी आँगनमा कसैलाई नछोई टुक्रुक्क बस्नुपर्थ्यो, स्कुलमा पनि भीमबहादुरले त्यसरी नै बस्नुपर्यो।

तै पनि उनी पढ्थे होलान्, स्कुल गइरहन्थे होलान्, यदि पढाउने मास्टरले जातकै कारण लगातार मुटु छियाछिया पार्ने गरी विभेद नगरेका भए।

मास्टर ब्राह्मण जातिका थिए। कक्षामा हाकाहाकी भीमबहादुरमाथि छोइछितो गर्थे। भीमबहादुरले कुनै कुरा नबुझेर प्रश्न सोधे भने सिधै ‘दमाइको छोरा भएर मलाई प्रश्न सोध्ने?’ भन्दै झर्किन्थे।

भीमबहादुर एक कक्षा हुँदाको कुरा हो। कक्षामा नजानेको प्रश्न सोधेकै निहुँमा तिनै मास्टरले उनलाई बेस्कन कुटेछन्। टाउकोमै हिर्काएकाले उनी केही बेर मुर्छै परेछन्। त्यसको भोलिपल्टदेखि उनी स्कुलै गएनन्। यस्तै ताल हो भने कुन दिन मास्टर वा अरू विद्यार्थीले कुटेरै मार्लान् भन्ने डरले भीमबहादुरलाई उनको बुवाले स्कुल पठाउनै मानेनन्।

भीमबहादुरको लेख्ने-पढ्ने इच्छा छुवाछुतको खाडलमा पुरियो। जातकै कारण उनी स्कुलमा अरू विद्यार्थीसरह पढ्ने अवसरबाट वञ्चित भए। कखरासम्म स्कुलमा सिकेका उनले त्यसपछि जति लेखपढ गरे, घरमै गरे।

‘स्कुल मात्र होइन, गाईवस्तु चराउन जाँदा होस् या कुवामा पानी लिन, मेलामा जाँदा होस् या बजार जाँदा- आमाबाले खेपेका विभेदका अनेकौं कथा मैले सानैदेखि सुन्दै आएकी थिएँ,’ दीपाले भनिन्, ‘मेरी आमाले त झन् स्कुलको मुखधरि देख्न पाउनुभएन।’

आमाबाको मुखबाट यस्ता कुरा सुन्दासम्म दीपाले खास अर्थ बुझेकी थिइनन्। जति ठूली हुँदै गइन्, विभेदको सिर्कनो उनीमाथि पनि पर्न थाल्यो।

एकदिन उनी सानो ग्यालिन बोकेर पानी थाप्न गाउँको सार्वजनिक धारामा गएकी थिइन्। जातीय छुवाछुतसँगको उनको पहिलो जम्काभेट त्यही धारामा भयो। उनी जाँदा कथित उपल्लो जातिकाहरू पानी थाप्दै थिए। उनीहरूले आफूले पानी थापुञ्जेल दीपालाई धाराको नजिक आउन पनि दिएनन्। उनीहरू पानी थापेर फर्केपछि मात्र दीपाले धारामा प्रवेश पाउँथिन्। कुनै दिन दीपा पहिले पुगेर पानी थापिरहेकी छन् भने ती कथित उपल्लो जातिकाहरू उनले छोएको धारा र टेकेको भुइँलाई सुनपानी छर्केर चोख्याउँथे। त्यसपछि बल्ल उनीहरू त्यो धारामा पानी थाप्थे।

यसबीच कसैगरी दीपासँग छिसिक्क छोइयो भने पनि उनीहरू बबन्डर मच्चाउँथे। दीपाले ल्याएको पानीको भाँडा नै फ्याँकिदिन्थे।

उता भाँडा कुच्चिन्थ्यो, यता दीपाको कलिलो मन खुम्चिन्थ्यो।

गाउँका ठूलाबडा मात्र होइन, आफ्नै उमेरका साथीले पनि यस्तो व्यवहार गर्दा चाहिँ दीपालाई असह्य हुन्थ्यो। एकदिन त उनले रिस खप्न नसकेर आफ्नो भाँडा कुच्याइदिने एक जनालाई धाराबाटै निकालेर कुटिदिइन्।

त्यो दीपाको पहिलो विद्रोह थियो।

जब दीपा पढ्ने उमेरकी भइन्, उनी कापी-कलम बोकेर स्कुल गइन्। उनका बुवा भीमबहादुरलाई लागेको थियो, एउटा पुस्ता फेरिँदासम्म स्कुलका मास्टरहरूको व्यवहार पनि फेरियो होला। तर, जातीय छुवाछुतले त एउटा पुस्ताबाट अर्को पुस्तासम्म जरो गाडिसकेको रहेछ। जुन विभेद भीमबहादुरले आफ्नो पालामा स्कुलमा भोग्नुपर्यो, त्यस्तै विभेदको शिकार उनकी छोरी दीपा पनि भइन्।

यो जातीय विभेदको कारण के हो, आफू किन तल्लो जात र आफूजस्तै साथी किन माथिल्लो जात भन्ने प्रश्न दीपाको मनमा नआउने होइन। उनी यस्ता प्रश्न सोध्थे पनि। तर, गाउँका ठूलाबडा, गन्यमान्यहरूसँग उनको प्रश्नको जवाफ थिएन। बरू उनीहरू अपत्यारिला कथाहरू सुनाउँथे।

तिनै कथा टिपेर एकदिन स्कुलमा माथिल्लो जातिका सहपाठीले सुनाए, ‘तिमीहरू राँगाको मासु खाने भएकाले साना जात हौ।’

उनी अचम्म परिन्, किनकि उनको घरमा राँगाको मासु कहिल्यै पाक्दैन थियो।

उनले हरेक दसैं बेला गाउँमा पूजा गरेर राँगा र बोका काट्ने गरेको देखेकी थिइन्। सबै गाउँलेले त्यसमा पैसा हाल्थे। दलितहरूलाई राँगोको मासु छुट्याइन्थ्यो, बाहुन-क्षत्रीले बोकाको मासु लैजान्थे। तर, दलितलाई छुट्याएको राँगोको मासु दीपाका बुवाले कहिल्यै घर ल्याएनन्। त्यो त्यसै छाडिन्थ्यो, पछि सिनो बन्थ्यो।

एउटा दसैंमा भीमबहादुरले गाउँलेहरूसामु प्रस्ताव राखे, ‘अब राँगो नकाटम्, हामी खाँदैनम्। हामीलाई पनि बोकाकै मासु दिनुपर्छ, त्यो पनि बराबर!’

उनको कुरा गाउँलेले माने। मासुमा विभेदको प्रथा पहिलोचोटि तोडियो।

गाउँमा अर्को पनि प्रथा थियो- बालिघरे प्रथा! वर्षभरि उनका आमाबुवाले विष्टहरूको घरमा लुगा सिउँथे। त्यसबापत वर्षको एकचोटि अन्न पाउँथे।

‘अन्न दिने बेला पनि कस्तो विभेद हुन्थ्यो भने, राम्रो राम्रो अन्न आफू राख्थे, हामीलाई चाहिँ भुस र पपेटासहितको दिन्थे। बुवा त्यो अन्न नलिई खाली हात आउनुहुन्थ्यो। त्यसरी वर्षौंवर्षदेखि हाम्रो पसिनाको कमाइ लुटिँदै आएको थियो,’ दीपाले सम्झिइन्, ‘बुवा हामीले गरेको परिश्रमको फल पाउनुपर्छ भनेर बोल्नुहुन्थ्यो। समाजले दलित भएर ठूलो कुरा गर्छस् भनेर उहाँलाई चुप लगाउँथ्यो।’

जतिसुकै चुप लाग्नुपरे पनि भीमबहादुर आफ्नो कुरा राख्न भने छाड्थेनन्।

यसैबीच माओवादी द्वन्द्व सुरू भएपछि उनको गाउँमा पनि माओवादी पस्यो। २०५७ सालको कुरा हो, माओवादी नेता अहिलेका प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा दीपाको घर पुगेका थिए। उनले दीपाको परिवारसँगै बसेर खाना खाए।

‘त्यो दिन आमाबुवाले आफ्ना कुरा उहाँलाई सुनाउनुभयो। उहाँले पनि महिला, उत्पीडित समुदाय र उत्पीडित वर्गको मुक्ति र जातीय छुवाछुत अन्त्य गर्न माओवादीले हतियार उठाएको कुरा गर्नुभयो,’ दीपाले भनिन्।

दीपाका बुवाले पनि गाउँमा भोग्नुपरेको जातीय विभेद र त्यसविरूद्ध आफ्नो संघर्षको कथा सापकोटालाई सुनाए। उनको कुरा सुनेर सापकोटासहितको माओवादी समूहले भनेछन्- अब यो गाउँको नेतृत्व तपाईंहरूले गर्नुपर्छ।

त्यसपछि दीपाका आमाबुवा दुवै माओवादीमा लागे। घरमा भाइ र बहिनी हेर्ने जिम्मेवारी दीपाको काँधमा आयो।

माओवादी लडाकूहरूलाई चाहिने लुगा सिउने काम पनि दीपाका आमाबुवाले नै गर्थे। उनीहरूले आफ्नो श्रम र समय पार्टीलाई दिएका थिए। सेना र राज्यको डर भने भइरहन्थ्यो। यही डरले गाउँमा बस्न सक्ने अवस्था रहेन। २०६० सालमा उनीहरू घरबार छाडेर तराईको घोडाघोडी झरे।

घोडाघोडी चौधरी र साहु-महाजनहरू बस्ने बस्ती थियो। आमाले त्यो गाउँमा आएपछि पनि पार्टीको काम सम्हालिन्। दीपा र उनका भाइ-बहिनी त्यहीँको स्कुल भर्ना भए।

त्यो स्कुलमा कुनै समय एउटै जमिन्दार परिवारको व्यवस्थापन समिति र त्यही परिवारका शिक्षकहरू थिए। स्कुलमा उनीहरूकै हालिमुहाली थियो।

२०६५/६६ तिर दीपाकी आमा पार्वतीले स्कुलमा समावेशीताको कुरा उठाइन्। सात राजनीतिक दलको बैठक बस्यो र स्कुलको नियुक्तिमा समावेशीता हुनुपर्ने नियम बनाइयो।

१७ वर्षको हुँदा दीपा १२ कक्षाको परीक्षाको तयारी गर्दै थिइन्। त्यति बेला गाउँको श्री मेलागट्टी माध्यमिक विद्यालयमा शिक्षक चाहिएको थियो। यसको निम्ति सार्वजनिक सूचना नै जारी गरिएको थियो। पार्वतीले एक जना शिक्षक दलित राखौं भन्ने प्रस्ताव गरिन्। तर समितिले मानेन।

दीपालाई शिक्षक राख्दा ठिकै हुन्छ भन्ने प्रस्ताव पनि आएछ। त्यसबारे बैठक पनि बसेछ। बैठकमा कुरा उठेछ, ‘दमाईकी छोरी शिक्षक भएपछि हाम्रा छोराछोरीले नमस्कार गर्नुपर्छ, यो हुँदै हुँदैन।’

त्यतिन्जेल दीपाको शिक्षक बन्ने कुनै योजना थिएन। अरूले प्रस्ताव मात्र गरेका थिए। उनका आमाबाले पनि छोरीलाई शिक्षक बनाउनेबारे सोचेका थिएनन्। तर, गैरदलित समुदायका व्यक्तिहरूले सिधै ‘दमाईकी छोरीलाई शिक्षक बनाए नमस्कार गर्नुपर्छ’ भन्ने कुरा सुनेपछि दीपालाई झोंक चल्यो।

उनले सोचिन्, ‘यहाँ शिक्षक बन्न आउने गाउँका कुनै पनि मानिसभन्दा मेरो क्षमता कम छैन। तै पनि यिनीहरू यसो भन्छन् भने मै बन्छु शिक्षक।’

उनले स्कुलमा आवेदन दिइन्।

‘व्यवस्थापन समितिका अध्यक्षले त मेरो आवेदन भुइँमै फ्याँकिदिए,’ दीपाले सम्झिइन्, ‘उनले मलाई शिक्षा नियामावली हेर्नू भने। किन नियमावली हेर्नू भने भन्ने कुरा मैले अहिलेसम्म बुझेकी छैन।’

त्यो घटनापछि दीपा आन्दोलनमा ओर्लिइन्। नाराबाजी गरिन्। स्कुलमा ताला लगाइदिइन्। उनलाई विश्वास गर्ने गैरदलितहरूले उनको विरोधमा साथ दिए। जिल्लाका मिडियाले साथ दिए। स्कुलमा दिनहुँ नाराबाजी हुन थाल्यो।

यो दीपाको दोस्रो विद्रोह थियो!

त्यो विद्रोहपछि उनी शिक्षक बनिन्। तर पनि विभेद रोकिएन। शिक्षक भइसकेपछि पनि तीन महिनासम्म उनले तलब पाइनन्।

स्कुलमा पहिले ब्राह्मण जातिका एक सहयोगी थिए। दीपाले काम गर्न थालेपछि दलितलाई पानी, खाजा खुवाउनुपर्छ वा उनले खाएको भाँडा माझ्नुपर्छ भनेर चौधरी समुदायका व्यक्तिलाई सहयोगी राखियो र ती ब्राह्मण सहयोगीलाई शिक्षकमा नियुक्त गरियो।

यी सबै विभेद सामना गर्दै दीपाले सात वर्ष त्यहाँ पढाइन्।

त्यतिञ्जेल उनको स्नातक सकिएको तीन वर्ष भइसकेको थियो। उनी शिक्षकको जागिर छाडेर विश्वविद्यालय पढ्न काठमाडौं आइन्।

केही समय उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको छात्रावासमै बसिन्। त्यहीँ बसेर उनको पढाइ चलिरहेको थियो। भाइबहिनी पनि पढ्न काठमाडौं आउने भएपछि उनले डेरा खोज्नुपर्ने भयो। उनी कोठा खोज्न दिनहुँ काठमाडौंको चक्कर काट्न थालिन्। कीर्तिपुरदेखि स्वयम्भू, ठूलो भर्‍याङ, सानो भर्‍याङ हुँदै सामाखुसी, चाबहिल, बौद्ध र जोरपाटीसम्म चहार्दा पनि उनले कोठा पाइनन्।

कोठा नपाएको त होइन, तर दीपाको थर सुन्नेबित्तिकै कोही पनि कोठा दिन राजी हुन्थेनन्। कोठा भेटिन्थ्यो, सबै कुरा मिल्थ्यो अनि घरबेटीले थर सोध्थे। यसरी थर सोध्नेहरू देखेर सुरूमा त दीपा अचम्म पर्थिन्, पछि यो जातीय विभेद हो भन्ने उनले बुझ्दै गइन्।

उनको यस्तो भोगाइ सुन्दा गैरदलित साथीहरू पत्याउँदैनथे। काठमाडौंमा यस्तो कहाँ हुन्छ र भन्थे। दलितहरूले चाहिँ उनलाई थर फेर्न सुझाउँथे। यी दुवै कुराले उनलाई चित्त दुख्थ्यो।

उनी कुनै हालतमा आफ्नो थर फेर्न चाहँदिनन्। उनलाई थर होइन, आफ्नो थरमा खोट देख्ने समाजको आँखा फेर्नुछ।

‘चोट परेको छ नि मनमा। तर, मनमा लागेको चोट कसैलाई देखाउन मिल्दैन। मलाई पो थाहा छ त अपहेलित हुँदाको, विभेद भोग्दाको पीडा, तर त्यो पीडा बाहिर देखाउन मिल्दैन,’ उनले भनिन्, ‘यस्तोमा साथीहरूले विश्वास नगर्दा त झन् चोट बल्झिन्थ्यो।’

एकदिन उनले आफ्नी काकीका साथीहरूलाई यो कुरा भनिन्। उनीहरूले पनि पत्याएनन्। बरू सँगै कोठा खोज्न गइदिन्छौं भनेर भने।

त्यस दिन उनीहरू चाबहिलमा कोठा खोज्न गएका थिए। एक जना वृद्धले उनीहरू कुरा गर्दै हिँडेको सुनेका रहेछन्। उनलाई बोलाएर सोधेछन्, ‘कहाँ हिँडेको?’

दीपाले भनिछन्, ‘कोठा खोज्न।’

त्यसपछि ती वृद्धले आफ्नो घरमा कोठा भएको बताए। विद्यार्थीहरूका लागि त झन् राम्रो छ भन्दै घर लगे।

घर नजिकै पुग्न लाग्दा ती वृद्धले सोधे, ‘अनि नानी चाहिँ कुन थरीको हो नि?’

दीपाले ‘परियार थरको’ भनेपछि उनको अनुहारको रंग नै बदलियो।

‘सानो जातकी रहिछौ। म साना जातसँग बोल्दा त बोल्दिनँ, कोठामा कसरी राख्छु? मिल्दैन नानी जाऊ,’ उनले भने।

दीपा फेरि नि:शब्द भइन्। त्यो दिन उनको कुरा नपत्याउने काकी र काकीका साथीहरूले पनि जातीय विभेदको तस्बिर आफ्नै आँखाले देखे। जातकै कारण कोठा पाउन कति गाह्रो रहेछ भन्ने बुझे।

त्यसपछि उनीहरूले पनि दीपालाई कोठा खोज्न सघाए।

खोज्दा खोज्दै एकदिन तार्केश्वर नगरपालिका वडा नम्बर १० मा कोठा भेटियो। कोठाभाडा पनि मिल्यो। घरबेटीले लामो समयसम्म बस्ने परिवारको खोजी गरेको बताए।

कुरा मिलेपछि घरबेटीले कोठा रंगरोगन गरेर उनीहरूलाई खबर गरे।

दीपालाई अझैसम्म याद छ, त्यो २०७६ मंसिर १३ गतेको दिन थियो। त्यस दिन उनी निकै खुसी थिइन्। कोठा लिँदा कसैले उनीहरूको थर सोधेका थिएनन्।

‘उहाँहरूले मेरो थर सोध्नुभएन। मलाई त्यसैमा यति धेरै खुसी लाग्यो, के भन्नु! आत्मसम्मान नै यहाँ रैछ भन्ने लाग्यो,’ दीपाले भनिन्, ‘सामान ओसार्न सकेर हामी कोठामा बसेका मात्र थियौं, घरबेटीकी छोरी आएर ‘तपाईंहरूसँग परिचय गरौं न’ भनिन्।’

उनले त्यसो भन्दा दीपा झस्किएकी त थिइन्, तर उनले सामान्य ढंगमा आफ्नो परिचय बताइन्। घरबेटीकी छोरी कुराकानी सकेर गइन्।

उनीहरूले त्यो रात हाँसीखुसी भात पकाएर खाए। बाहिर मानिसहरू सर्‍याकसुरूक गरेको उनीहरूले चाल पाएका थिए। तर, उनीहरूलाई आफ्नो खुसीका अगाडि त्यसको मतलब थिएन।

त्यो रात खाना खाइवरी ओछ्यानमा जानुअघि दीपाले सोचेकी थिइन्- आज त धेरैपछि मस्त निदाइन्छ!

‘हुन पनि त्यो रात मलाई यति मिठो निद्रा लाग्यो, आफ्नै घरमा जस्तो,’ उनले भनिन्, ‘त्यो निद्रा म कहिल्यै बिर्सिन्नँ।’

तर, उनको मिठो निद्रा बिथोल्न कोठाबाहिर हावाहुन्डरी चल्न थालिसकेको थियो।

एकाबिहानै दीपाको निद्रा खल्बल्याउने गरी कसैले जोडजोडसँग ढोका ढक्ढकायो। उनले आँखा मिच्दै चुकुल खोलिन्। बाहिर थिए, घरबेटी।

ती घरबेटी गृह मन्त्रालयका प्रशासकीय अधिकृत कृष्ण बिडारी थिए। ढोका खोल्नेबित्तिकै उनले भने, ‘कुरा गर्न आएको। तिमीहरूलाई त मेरी श्रीमतीले परिचय नै नसोधी कोठा दिइछ। तिमीहरूको जात थाहा भएपछि यहाँ अरू पनि बस्दैनन्। त्यसैले अन्तै कोठा खोज्नू, यहाँ बस्न मिल्दैन।’

दीपाको मीठो सपना एकै रातमा चकनाचुर भयो।

अब कोठा खोज्न भौंतारिने लफडाबाट मुक्त भएर निर्धक्क पढ्न पाइने भयो भन्ठानेकी दीपालाई घरबेटीको कुरा सुनेर यस्तो लाग्यो, मानौं उड्दा-उड्दै शिकारीको बाण लागेर पन्छी भुइँमा पछारिएको होस्!

त्यति बेला स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा चल्दै थियो। परीक्षाकै बीचमा बसेको पहिलो दिन नै उनले डेरा सर्न धम्की सहनुपरेको थियो।

‘कोठा त म छोड्न सक्थेँ, तर मेरो थर त छोड्न सक्दिनथेँ। उनीहरूले मलाई थर्काउने र धम्काउने गर्न थाले,’ दीपाले भनिन्, ‘म त्यो घरमा तीन महिना बसेँ। ती तीन महिनामा कुनै त्यस्तो दिन रहेन, जब हामीले घरबेटीबाट मानसिक यातना खेप्नु नपरेको होस्।’

त्यसैबीच दीपा मानव अधिकारसम्बन्धी एक कार्यक्रममा भाग लिन गएकी थिइन्। त्यहाँ उनले आफ्नो समस्या बताइन्। उनीहरूले मुद्दा हाल्न सुझाए। तर, दीपाले मुद्दा हालिनन्।

उनी आफ्नो कुरा सुनाउन विभिन्न राजनीतिक दलका नेताहरूकहाँ पनि पुगिन्। कतिपय नेताले उनको कुरा सुनेको नसुन्यै गरे, कतिले चाहिँ आफैं अघि सरेर उनलाई सहयोग गर्नुको साटो दलित नेताको नम्बर थमाइदिए।

फागुन ४ गते घरबेटी उनको कोठाबाट सामान फ्याँक्न आए। उनको जाने ठाउँ थिएन, जसोतसो त्यहीँ बसिन्।

केही सिप नलागेपछि उनले फागुन १९ गते पत्रकार सम्मेलन गरेर महानगरीय प्रहरी वृत्त बालाजुमा निवेदन दिन गइन्।

उनले सुरूमा ठाडो निवेदन दिइन्, तर प्रहरीले दर्ता गर्न आनाकानी गरे।

त्यसपछि भोलिपल्ट जाहेरी लिएर जाँदा गृहका कर्मचारी बिडारीले जाहेरी दर्ता नगराउनेसम्म कसरत गर्न थालेको उनले बताइन्।

‘म जाहेरी दिन जाँदा त प्रहरी कार्यालयमा ठूल्ठूलो ज्यान भएका १०/१५ जना मानिस थिए। उनीहरूले यहाँ जे पनि हुन्छ भनेर मलाई धम्की दिए। तर, मेरो मनबाट डर हराइसकेको थियो,’ उनले भनिन्।

दीपाले त्यस दिन ती सबैसँग आँखा जुधाएरै भनिन्, ‘तपाईंहरू जस्तो पढेलेखेको मान्छेले मलाई पहिले जातका आधारमा विभेद गर्ने अनि अहिले धम्काउन आउने? यस्तै भएकोले हाम्रो समाज पछाडि धकेलिँदैछ। तपाईंहरू मलाई मार्न चाहनुहुन्छ भने पनि ठिक छ मलाई मार्नुस्, तपाईंले मलाई मारेको सह्य हुन्छ, तर म विभेद सहदिनँ। मलाई मेरो ज्यानको माया छैन।’

त्यो दिन ती मानिसहरू उनको कुरा सुनेर पछि हटे।

महानगरीय प्रहरी वृत्त बालाजुका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरलाई हामीले उक्त घटनाबारे सोध्दा उनले ‘कुनै किसिमको दबाबका कारण जाहेरी दर्ता गर्न ढिलाइ नगरिएको’ बताए।

‘त्यति बेला अहिलेजस्तै घरबेटीबाट भेदभाव भयो भन्ने उजुरी आएको थियो। मुद्दा नै चल्यो,’ राठौरले भने, ‘दबाबका कारण ढिलो भएको होइन। हामीले सुरूमा कुरा बुझ्यौं, उजुरी आउनेबित्तिकै दर्ता गर्ने कुरा भएन। उहाँहरूले पेस गरेको प्रमाण बुझेपछि जाहेरी दर्ता भएको हो। सार्वजनिक पद धारण गरेका व्यक्ति नै भएको हुँदा इस्यू चाहिँ भएको थियो।’

उनले यो पनि भने, ‘उहाँलाई कोठा सार्न हामीले सुरक्षा नै दिनुपरेको थियो।’

यता घरबेटी बिडारीले पनि आफूमाथि गलत आरोप लागेको जिकिर गरिरहेका थिए। यो विवादले सामाजिक सञ्जालमा चर्चा पाएपछि गृह मन्त्रालयले बिडारी र दलित विकास समितिका निर्देशक डा. बुद्धि नेपालीलाई बोलाएर सोधपुछ गरेको थियो।

त्यसपछि फागुन २२ गते साँझ ६ बजे दीपाको जाहेरी दर्ता भयो। तर, बिडारीलाई प्रहरीले पक्राउ गरेको थिएन।

फागुन २६ गते दीपालाई गृह मन्त्रालयबाट फोन आयो। उनी अरू पनि मानिस लिएर त्यहाँ गइन्। आफ्ना कुरा राखिन्। त्यसपछि महान्यायाधीवक्ताकहाँ गइन्। महान्यायाधीवक्ता अग्नी खरेलले उनका कुरा सुनेर न्याय पाउने आश्वासन दिएका थिए।

उनी सिंहदरबारबाट निस्किँदा निस्किँदै यता प्रहरीले घरबेटीसहित उनलाई विभेद गर्ने चार जनालाई पक्रियो।

त्यसै दिन गृह मन्त्रालयमा आफ्नो कुरा राखेर फर्किँदै गर्दा हो, दीपालाई उनकी आमा पार्वतीले फोन गरेको।

आमाले उनलाई भनेकी थिइन्, ‘काठमाडौंमा डेरा पाइएन भनेर नफर्किनू। तिमी हाम्री छोरी हौ, लड्नू! तिमी लड्न सक्दिनौ भने मै आउँला।’

दीपाले आफूलाई विभिन्न मान्छेहरूले धम्की दिएको कुरा आमालाई सुनाइन्।

आमाले भनिन्, ‘धम्कीदेखि नडराउनू, बरू मर्नू। मर्न तयार हुनू, झुक्न चाहिँ नझुक्नू!’

त्यसपछि दीपाको मन बलियो भयो।

यो दीपाको तेस्रो विद्रोह थियो, जुन आजसम्म जारी छ।

उनको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ। घरबेटीसहित चारै जना ३५/३५ हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्। फैसला आउन बाँकी छ।

‘अहिले रूपा सुनारको घटना सुनेपछि मलाई आफ्नै भोगाइ दोहोरिएजस्तो लाग्दैछ। कतिपयले रूपालाई गाली गरेका छन्। यस्तोमा युवा पुस्ताका मानिसहरू पनि धेरै छन्। उनीहरू हामी होइन, हाम्रा आमाबा जान्दैनन्, विभेद गर्छन् भन्ने तर्क गर्छन्। तर, आफ्ना आमाबालाई विभेद गर्नुहुन्न भनेर सिकाउने युवा पुस्ताको दायित्व होइन र?’ दीपाले भनिन्।

उनले यो पनि भनिन्, ‘मान्छेहरू समाज विस्तारै फेरिन्छ भन्छन्। विस्तारै भनेको कहिले हो? कहिले फेरिने हो समाज? अनि यो समाज विस्तारै नफेरिएसम्म हामीले यस्तै विभेद भोगिरहने? कहिलेसम्म भोगिरहने?’

‘पहिले काठमाडौं आएर पढुँला, लोकसेवा लडुँला, शिक्षिका बनुँला भन्ने मैले सपना देखेकी थिएँ, अब मेरो सपना फेरिएको छ। अब मलाई म पनि आत्मसम्मान भएको मान्छे हुँ भनेर बुझाउनुछ।’

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै