काँ’ग्रे’स’मा स’भा’प’तिको दौ’ड : दे’उ’वा’लाई साथीका छो’रा’को चु’नौ’ती

यस्ता छन् काँग्रेस सभापतिका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा सभापतिका दाबेदारहरु थपिँदै गएका छन् । सभापतिमा दाबी गर्नेहरुमा पहिलो पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलदेखि लिएर दोस्रो पुस्ताका विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइरालासम्म छन् ।

दोस्रो पुस्ताका नेता कृष्णप्रसाद सिटौला गोपालमान श्रेष्ठको नाम पनि चर्चामा आइरहेको छ । यद्यपि उनीहरु मैदानमा उत्रिइसकेका छैनन् ।

आसन्न १४ औं महाधिवेशनमा तेस्रोपुस्ताका नेता कल्याण गुरुङले पनि सभापतिमा दाबी गरेका छन् । कल्याण गुरुङका पिता बसन्त गुरुङले शेरबहादुर देउवासँगै नेविसंघको राजनीति गरेका थिए । अहिले कल्याण आफ्नै पिताका प्रतिस्पर्धीलाई पार्टी सभापतिमा चुनौती दिन मैदानमा खडा भएका छन् ।

वीपी कोइरालाले शुरुमा बसन्त गुरुङलाई नेविसंघको सभापति बनाउने बचन दिएका थिए । पछि शेरबहादुर देउवाले वीपीबाट चिठी लिएर आएपछि गुरुङ नेविसंघको सभापति हुन पाएनन् । यसरी आफ्नो बाबुलाई नेविसंघको सभापति बन्नबाट रोक्ने उनै देउवासँग अहिले बसन्तका छोरा कल्याणले पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

आगामी भदौ १६–१९ का लागि तय गरिएको महाधिवेशनको सरगर्मी काँग्रेसमा ह्वात्तै बढेको छ । सभापति देउवाले उम्मेदवारी प्रस्तुत गरी आफू पक्षीय केन्द्रीय नेताहरुसँग प्रदेश स्तरीय छलफल गरेपछि महाधिवेशनको माहौल एकाएक तातेको छ । अब अहिलेसम्म सभापतिको दाबी गर्नेहरुको सूची हेरौं–

शेरबहादुर देउवा : आफ्नै समूहबाट चुनौती

सभापतिका बलिया दाबेदार शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । ७६ वर्ष पुगिसकेका देउवा भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनमा फेरि सभापतिमा भिड्ने योजनामा छन् ।

चारपटक प्रधानमन्त्री र ३ पटक पार्टीको नेतृत्व गरेका देउवालाई विश्राम लिन आफ्नै टिमबाट दबाब छ । उसभापति निधि र नेता श्रेष्ठको चुनौतीका बीच देउवा अगाडि बढिसकेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले महाधिवेशनसम्म अन्य टीममा कति खेल्छन् र कस्तो टीम बनाउँछन् हेर्न बाँकी छ ।

उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।

२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीमा उनी सर्वसम्म पार्टी सभापति चयन भए ।

०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका दुई वटा महाअधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भए ।

अहिले सभापतिमा दोहोरिने चाहना देउवाले व्यक्त गरेका छन् । तर, उनले आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठहरुलाई समेत मिलाउन सकेका छैनन् । हिजो आफैंसँग रहेका प्रकाशमान सिंहले पनि देउवालाई चुनौती दिइरहेका छन् ।

सभापतिमा दोहोरिने देउवाको योजनामा संस्थापन पक्षबाटै दुई जनाले चुनौती दिएको अवस्था छ । पहिलो कार्यकालमा असफल सभापतिको दाग लागेको भन्दै आसन्न चुनावमा पार्टीलाई बहुमत दिलाएर देउवा दाग पखालेर विदा हुने सोचमा देखिन्छन् ।

पोखरामा भएको काँग्रेसको १० औं महाधिवेशनबाट समूहगत रुपमा जोडिएका देउवा र उपसभापति विमलेन्द्र निधिबीच दरार पैदा भएको छ । देउवालाई रोक्न सभापतिमा दाबेदारी प्रस्तुत गर्दै निधि अगाडि बढेका छन् ।

देउवा आफैं दोहोरिन खोजेपछि निधिले पार्टीको संस्थापन इत्तर कित्ताका नेतासँग सामीप्य बढाउन खोजेको देखिन्छ । भावी सभापतिमा सहयोग माग्दै उनले सोमबार इत्तर पक्षका दोस्रो र तेस्रो तह नेतासँग छलफल गरेका छन् ।

निधि नेतृत्वका लागि कसिएपछि देउवाकै टीमका वरिष्ठ नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा आकांक्षा प्रकट गरेको अवस्था छ । उनी पनि देउवाले विश्राम लिएर संस्थापन पक्षबाट आफूलाई अगाडि सार्नुपर्ने बताउँछन् ।

श्रेष्ठले पनि अहिलेसम्म देउवालाई सघाउने संकेत देखाएका छैनन् । प्रदेशस्तरीय छलफलमा निधिले देउवाको प्रस्तावलाई चुनौती दिएका थिए भने श्रेष्ठ छलफलमै सहभागी भएनन् ।

निधि र श्रेष्ठमा १४ औं महाधिवेशन नै आफू अनुकुल रहेको बुझाइ छ । देउवा नेतृत्वको बलियो टिमको भविष्य र युवा पुस्ताको हस्तक्षेपकारी रणनीतिले उनीहरुमा पनि १४ औं महाधिवेशनमै चुनाव लड्नुपर्ने चुनौती थपिदिएको देखिन्छ ।

विमलेन्द्र र प्रकाशमान : देउवाका पूर्वसारथी

निधिको जन्म १० असोज ०१३ सालमा जनकपुरमा भएको हो । काँग्रेसका संस्थापक मध्येका एक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र १४ वर्षकै उमेरमा राजनीतिमा लागेका हुन् ।

उनी देउवापछि ०३६ सालमा नेविसंघको सभापति बने । तर, काँग्रेसको केन्द्रीय राजनीतिमा आउन भने निधिलाई केही समय लाग्यो ।

काँग्रेसको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उठेका उनी भीमबहादुर तामाङसँग पराजित भए । तर, १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न सफल भए । त्यसयता उनी काँग्रेसको केन्द्रीय राजनीतिमा जमेका छन् ।

देउवा नेतृत्वमा नयाँ पार्टी महामन्त्री बनेका उनी एकीकृत पार्टीमा महामन्त्रीका रुपमा प्रवेश भए । तर १२ औं महाधिवेशनमा पहिलो पटक महामन्त्रीको निर्वाचन हुँदा प्रकाशमान सिंहसँग पराजित भए ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा देउवाले उपसभापतिमा बनाए । यतिबेला निधिले देउवालाई भावी सभापतिका लागि चुनौती दिएको अवस्था छ ।

उनी देउवासँग सम्झौता गर्छन् वा नयाँ टीम बनाएर लड्छन्, त्यो भने हेर्न बाँकी छ ।

२०१३ मा काठमाडौंमा जन्मिएका प्रकाशमान काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । ०३० सालमा नेविसंघबाट राजनीति थालेका सिंह ०३६ सालमा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए । प्रकाशमानले पनि १४ औं महाधिवेशनबाट ‘फस्ट म्यान’ हुने सोचमा छन् । सभापतिका लागि पौडेलको टीममा उनी आफूलाई स्भाविक दाबेदार ठान्छन् ।

०३८ मा काठमाडौंमा पार्टीको जिल्ला सदस्य र ०४३ सालमा जिल्ला सचिव भए । ०४५ मा काठमाडौं सभापति भएपछि लगातार दुईपटक जिल्लाको नेतृत्व सम्हाले । त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे ।

०५७ सालमा पोखरामा भएको १० औँ महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति नै भए ।

०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । अहिले उनी सभापतिको दाबेदारी प्रस्तुत गरी आन्तरिक गृहकार्य गरिरहेका छन् ।

रामचन्द्र पौडेल : आफ्नै समूहमा च्याउसरी उम्मेदवार

रामचन्द्र पौडेलको जन्म विसं. २००१ मा तनहुँको रिस्तीस्थित बाहुनपोखरामा जन्म भएको हो । ०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल ०४० देखि केन्द्रीय राजनीतिमा छाए । काँग्रेस केन्द्रीय प्रचार समिति संयोजक भएर उनी केन्द्रीय राजनीतिमा उदाएका थिए ।

पौडेल पटक–पटक मन्त्री भए पनि प्रधानमन्त्री भएका छैनन् । उनी पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न पौडेललाई अवसर जुरेको छैन ।

प्रधानमन्त्रीमा १७ पटक प्रयास गर्दा पनि असफल भएका पौडेल देउवासँग १३ औं महाधिवेशनमा पराजित भएपछि सभापति बन्न सकेनन् । तर ७६ वर्ष कट्न लागेका पौडेलमा काँग्रेसको सभापति हुने उत्कट आकांक्षा जिवितै छ । त्यसैले न उनी १४ औं महाधिवेशनबाट सभापति बन्न कस्सिएका छन् ।

सभापतिमा आकांक्षा देखाएका शशांक, प्रकाशमान, सुजाता र शेखरको टकराबले आफ्नो टीममा निर्विकल्प बन्न सकेका छैनन् । पौडेल पक्षमा सभापतिका दाबेदारहरुको लाइन लामो छ । १३ औं महाधिवेशनमा देउवासँग पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा पनि प्रतिस्पर्धामा उत्रिने रणनीतिमा छन् । उनले विहीबारदेखि नै यसका लागि छलफल शुरु गरेका छन्

देउवाको दोस्रो उम्मेदवारीले पौडेलको दाबीलाई गर्ने केही सहजता प्रदान गरेको छ । तर, पौडेललाई रोक्न उनको समूहबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा लड्ने घोषणा गरिसकेको अवस्था छ ।

पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी र रामशरण महतले पनि पौडेल पक्षबाट एकल उम्मेद्वारी नभए सभापतिमा लड्ने बताएका छन् । तर, केसी र महत पदाधिकारीमा मनाउन सकिने पौडेलको बुझाइ देखिन्छ ।

पौडेलका लागि सबैभन्दा भारी कोइराला परिवारका तीनजना नेता हुन् । शशांक र शेखर व्यग्रताका साथ सभापतिको दौडमा निस्किएका छन् । सुजाता कोइरालाले पनि पौडेल समूहबाट उम्मदेवारी दाबी गरेकी छिन् । १३ औं महाधिवेशनमा भारी मतान्तरले महामन्त्री जितेका शशांक र एक नम्बरमा लोकप्रिय मत बटुलेका शेखरले देउवालाई हटाउन आफ्नो उम्मेदवारी अपरिहार्य ठानेको देखिन्छ । यो अवस्थामा कोइराला परिवारको विश्वास जित्नु रामचन्द्र पौडेलका लागि चुनौतीपूर्ण हुने देखिन्छ ।

पौडेल पक्षका युवा नेता गुरुङ पनि एक वर्षदेखि नै आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रचार गरिरहेका छन् । आफू युवा पंक्तिको टीम नै बनाएर चुनावी मैदानमा उत्रिने गुरुङको भनाइ छ । युवा नेताहरुले पदाधिकारीमा बाग्रेनिङ गर्न सभापतिको प्रचार गरे पनि आफू सभापतिमै लड्नका लागि अगाडि बढेको उनको भनाइ छ ।

यता १३ औं महाधिवेशनमै पौडेलसँग विद्रोह गरी सभापतिका उम्मेदावर बनेका कृष्णप्रसाद सिटौला पनि सभापतिका बलियो आकांक्षी छन् । सिटौलाले आफू सभापतिको स्वभाविक दाबेदारका रुपमा उभ्याउँदै आएका छन् । तर, १३ औं महाधिवेशनमा पहिलो राउडबाट बाहिरिएर दोस्रो राउण्डमा किङमेकर बनेका सिटौला यतिबेला के गर्छन् प्रस्ट भइसकेको छैन । १३ औं महाधिवेशनै टीम लिएर चुनावमा जान्छ वा कुनै समीकरणमा मिसिन्छन् सिटौलाले खुलाएका छैनन् ।

तलबाट आफू पक्षीय कति महाधिवेशनमा मतदाता (महाधिवेशन प्रतिनिधि) जितेर आउँछन् त्यसैको स्ट्रेन्थ हेरेर आगामी रणनीति बनाउने सिटौलाको योजना छ । सिटौला पक्षीय भनेर चिनिने नेताहरुको झुकाव केहिको देउवा र केहीको पौडेल पक्षतिर देखिन्छ । गगन थापा र प्रदीप पौडेल रानमचन्द्र पक्षमै झुकाव राख्छन् भने उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान देउवासँग नजिक रहेको पाइन्छ । हुमागाईंका अनुसार सिटौला सभापतिको दौउडमै रहेको र चुनाव चित्ने गरी टीम बनाउने गृहकार्य भइरहेको छ । तर, सिटौला समूहले देउवालाई सघाउँछ कि आफूलाई भन्ने कुराले पौडेलको हारजित तय हुने देखिन्छ ।

शशांक, शेखर र सुजाता कोइराला परिवारका तीन उम्मेदवार

नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका छोरा शशांकको जन्म ०१५ भएको हो । राजनीतिक परिवारमा हुर्किएका शशांक काँग्रेसको राजनीतिमा भने ढिलो गरी प्रवेश गरेका थिए । काँग्रेसको ११ औँ महाधिवेशनअघि चिकित्सा पेसामा थिए । चिकित्सा पेसाबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा हाम फालेका शशांक ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए ।

उनी १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा दोहोरिए । तर १३ औं महाधिवेशनमा शशांक महामन्त्रीको उम्मेदवार भए र जिते पनि । काँग्रेसका निर्वाचित महामन्त्री शशांक सभापतिका बलिया दाबेदार मानिन्छन् । तथापि कोइराला परिवारबाटै तीनजना दाबेदार देखिएका छन् ।

त्यस्तै बुवा केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका छोरा डा. शेखरको जन्म कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । चिकित्सा पेसामा पेन्सन प्राप्त गर्न एक वर्ष मात्र बाँकी रहँदा ०५१ बाट शेखर पूर्णकालीन राजनीतिमा होमिए । राजनीतिक परिवारमा जन्मिएका शेखर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा ११ औं महाधिवेशनबाट प्रवेश गरेका थिए ।

१३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए । पार्टी वरीयतामा उनी ३५ औं नम्बरमा पछन् । पार्टी र सरकारी पदमा उनको प्रवेश भएको छैन । तर सभापतिमा शेखरको दाबी र तयारी बलियो देखिन्छ ।

त्यसैगरी, नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताको जन्मि २०११ मा भएको हो । कोइराला परिवारका शशांक र शेखर भन्दा सुजाता राजनीतिको फ्रन्टलाइनमा अगाडि देखिएको पाइन्छ । १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेर पछि ‘त्याग’ गरेकी सुजाता कोइराला १४ औं महाधिवशेनमा अन्यले आफ्ना लागि त्याग गर्नुपर्ने बताउँछिन् ।

०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सुजाता ‘प्रथम महिला’ बनेकी थिइन् । सुजाता आमाको नाममा रहेको सुष्मा कोइराला ममोरियल ट्रष्टमार्फत समाजसेवामा लागेको केही वर्षभित्रै काँग्रेस राजनीतिमा सक्रिय हुन थालिन् । नौं पोखरा महाधिवेशनमा एक्कासि केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्य दस वर्ष नपुगेको भन्दै उनको उम्मेदवारी रोकियो । उनी सुनसरी काँग्रेसको जिल्ला सदस्य भइन् ।

सुजाता दशौं महाधिवेशनपछि केन्द्रीय संगठन विभागीय सदय भइन् । एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी अन्तर्राष्ट्रिय विभागप्रमुख भइन् र सरकारमा बिनाविभागीय मन्त्रीसमेत भइन् । ०६२÷०६३ को जनआन्दोलनपछि राजनीतिमा सुजाताको सक्रियता निकै बढ्यो । उनी माधव नेपाल नेतृत्वका सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री पनि भनिन् ।

१३ औं महाधिवेशनमा सभापतिमा दाबी गरेर अन्तिममा ‘ब्याक’ भएकी उनी १४ औं महाधिवेशनमा सभापतिको दौडमा देखिएकी छन् । काँग्रेसले महिलालाई नेर्तत्व दिनुपर्ने उनको माग छ । तथापि उनी कोइराला परिवारवीच सहमति भएमा पछि सर्न सक्ने सम्भावना पनि छ ।

कृष्णप्रसाद सिटौला : किङमेकर बन्ने दाऊमा

सिटौलाको जन्म ००६ सालमा तेह्रथुम आठराईमा भयो । तर, सिटौला झापाबाट राजनीतिमा सक्रिय भए । सिटौला झापा काँग्रेसमा सिके प्रसाईंको कार्यसमितिमा जिल्ला सदस्य भए । ०४१ सालसम्म जिल्ला सदस्य, ०४४ मा पार्टीको सिटौला प्रसाईंका उपसभापति भए ।

०४५ पुस २३ मा पनि उनी पुनः उपसभापति भए । ०४६ को जनआन्दोलनमा प्रसाईं सभापति भए पनि उनको उमेरका कारण झापा काँग्रेसमा सिटौला संगठनमा हाबी थिए । अनि ०५३ सालको नवौँ महाधिवेशनमा सिटौला झापा सभापतिमा निर्वाचित भए ।

०५७ मा पोखरामा भएको १० औँ महाधिवेशनबाट सिटौला केन्द्रीयय सदस्यमा निर्वाचित भए ।

सिटौला १२ औँ महाधिवेशनमा सुशील कोइराला प्यानलबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । पछि कोइरालाले सिटौलालाई महामन्त्री बनाए । १३ औं महाधिवेशनमा उनी सभापतिका प्रत्यासी बने र पराजित भए ।

सिटौलाले काँग्रेसमा तेस्रो धार खडा गरेका छन् । १४ औं महाधिवेशनसम्म उनी टीम जीवित छ । चुनावी मैदानमा भने सिटौला कसरी प्रस्तुत हुन्छन्, हेर्न बाँकी छ । उनले सभापतिमा दाबी गरिहालेको स्थिति छैन ।

कल्याण गुरुङ : देउवाको साथीका छोरा !

नेपाली काँग्रेसका पुराना नेता बसन्त गरुङका छोरा कल्याण गुरुङको २०२६ जन्म महोत्तरीमा भएको हो । २०४५ सालबाट राजनीतिमा सक्रिय भएका कल्याण नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा आएका हुन् ।

उनी नेविसंघमा गोविन्द भट्टाई नेतृत्वको कमिटीमा केन्द्रीय सदस्य थिए भने विश्वप्रकाश शर्मा नेतृत्वको कमिटीमा सहमहामन्त्री बने । काँग्रेस विभाजन हुँदा देउवा निकट नेविसंघको सभापति निर्वाचित भए ।

विगतमा देउवा निकट गुरुङ काँग्रेस एकृकीत भएपछि टाढिएका गुरुङलाई तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका थिए । १३ औं महाधिवेशनमा पौडेल समूहबाट जनताजि कोटामा केन्द्रीय सदस्य जितेका गुरुङ १४ औंमा सभापतिको दाबी गरिरहेका छन् ।

५२ वर्षीय गुरुङ युवा पंक्तिलाई साथमा लिएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन् ।

संस्थापन इत्तर पक्षका एक दर्जन युवा नेताले छुट्टै कसरत गरिरहेका छन् । दोस्रो पुस्ता पार्टीमा रुपान्तरण र पुस्तान्त्रणका लागि अग्रसर नभए युवा पंक्तिबाटै नेतृत्व खडा गर्ने उनीहरुको तयारी देखिन्छ । उक्त परिस्थितिमा आफू नेतृत्वका जोखिम उठाउन तयार रहेको गगन थापाले बताउँदै आएका छन् ।

शेखर कोइरालाले युवा पुस्ताका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । केही समयअघि शेखरले पोखरा र नुवाकोटमा युवा नेताको समूहसँग लामै संवाद गरेका थिए । सोमबार उपसभापति निधिले पनि उनीहरुसँग छलफल गरेका थिए ।

दोस्रो पुस्ताका नेताहरु विमलेन्द्र, शशांक, प्रकाशमान र शेखर वा विमलेन्द्र, सिटौला र शेखर ठाउँमा उभिएको परिस्थितिको अनुमान हुन थालेको छ । निधिले सभापतिको तयारीस्वरुप सिटौला, शशांक, प्रकाशमान र शेखरसँग एक वर्षयता संवाद गरिरहेको पाइन्छ ।

निधिलाई ९ जना युवा नेताले रुपान्तरण र पुस्तान्तरणका एजेण्डामा समर्थन गर्न सकिने बताएका थिए । देउवाबाट आशा मारिसकेका निधिले इत्तर पक्षसँग जोडिन खोजेपछि काँग्रेसमा नयाँ ध्रुवीकरणको सम्भवाना सतहमा आएको छ । नयाँ ध्रुवीकरण लागि चारैजना तयार नै रहेको देखिन्छ । तर, नेतृत्वको विषममा सबैको आ–आफ्नो दाबी छ । यो परिदृष्यले काँग्रेसको १४ औं महाधिवेशनलाई रोचक मोडमा उभ्याइदिएको छ । यसबाट यसपटक काँग्रेसमा तीन पुस्ताबीच चुनावी प्रतिस्पर्धा हुने अनुमान लगाउन गाह्रो छैन ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै