आँप किन्दा के कुरामा ध्यान दिने ?

अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ?

सामान्यतयाः हामीले खाने फलफूलहरु दुई प्रकारका हुन्छन् । एउटा बोटमै फलेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने खालको । बजारको लागि टाढा लैजानुपर्ने भएकोले आँप काँचैमा टिपेर पकाउने गरिन्छ । टाढा टाढासम्म लैजानुपर्ने भएकोले संसारभरि चल्ने कुरा हो ।

आँप लगायत फलफूल पकाउनको लागि विषादीको प्रयोग गरिँदैन । यद्यपि रोग फैलिन नदिनका लागि केही विषादीहरु प्रयोग हुन सक्छन् ।

फलफूल पकाउनको लागि रासायनिक विषादीभन्दा इथिलिङ नामक हर्मोनको प्रयोग गर्ने गरिन्छ । यसले गर्दा फलफूल छिटो पाक्ने गर्छ । इथिलिङ तोकिएको डोजमा प्रयोग गरियो भने यो मानव स्वास्थ्यको लागि खतरनाक हुँदैन । यो एक केमिकल हो । यसलाई विश्वका कुनै पनि प्रयोगशालाले विषादी मानेको छैन । तर यसको प्रयोग पनि निश्चित डोजभन्दा धेरै गरियो वा छिटो पकाउने होडमा धेरै मात्रा राखियो भने फेरि यो आफैँमा घातक हुन सक्छ ।

फलफूललाई छिटो पकाउनको लागि प्रयोग गरिने अर्को रसायन हो कार्बाइक । कार्बाइक इथिलिङभन्दा तुलनात्मक रुपमा बढी हानिकारक हुन्छ । यसलाई पनि इथिलिङको अर्को रुप मानिन्छ । यो एक किसिमको धुलो हो । यसको यति किलो आँपमा यति हाल्ने भन्ने हुन्छ । तर व्यापारीले छिटो पकाउने होडमा डोज बढाइदिन सक्छन् । त्यस्तो भयो भने यसले असर गर्छ । तर यति हुँदाहुँदै पनि विषादीले जस्तो यसले असर भने धेरै गर्दैन ।

घरमै आँप पकाएर खानु उपयुक्त

रामकृष्ण सुवेदी
बजारमा बिक्री हुने आँपमा तोकिएको डोजभन्दा धेरै मात्रामा इथिलिङ प्रयोग गरिएको छ कि छैन ? भन्ने कुरा प्रयोगशालाबाट मात्रै थाहा हुन्छ । आँप हेरेर त्यो थाहा नहुने भएकोले काँचो आँप घरमै पकाएर खानु उपयुक्त हुन्छ । तर सामान्यतया हामीले पाकेको आँप वा अन्य फलफूल पनि ल्याउँदा एकै रातमा धेरै गल्यो भने त्यसमा कार्बाइडको मात्रा बढी छ भनेर अनुमान लगाउन सक्छौं ।

आँपको गुणस्तरमा हार्भेस्टिङदेखि ढुवानी र भण्डारणको व्यवस्थासम्मले असर गर्छ । त्यस्ता फलफूलहरु टिप्दा नै घाउचोट नलाग्नेगरी टिप्नुपर्छ । हार्भेस्टिङको समय मिलाएर टिपिएको छ भने कुनैपनि रसायन विना नै आँप पकाउन सकिन्छ । तर व्यवसाय गर्नेहरुले यसमा धैर्य अपनाउन नसक्दा यस्ता रसायन प्रयोग हुने गर्छन् । तर ४/५ दिनसम्म तातो ठाउँमा बफ्याएर राख्ने हो भने कुनै रसायनको प्रयोग नगरी आँप पकाउन सकिन्छ ।

छिप्पिएको आँपलाई घरमा ल्याएर एउटा भाँडामा दुई वटा पाकेको आँपसँग राखिदिने हो भने दुई/तीन दिनमा यो आँप आफैँ पाक्ने गर्छ । तर बजारमा पाकेको आँप किन्दा त्यसमा इथिलिङ वा कार्बाइकको बढी डोज भएको आँप पर्ने सम्भावना हुन्छ ।

घरमा आँप पकाउँदा विभिन्न विधि अपनाउन सकिन्छ । पाकेको आँपसँग काँचो आप राख्ने वा हल्का नुनपानीमा डुबाएर केहीबेरपछि तातो ठाउँमा राखेर पनि सजिलै आँप पकाउन सकिन्छ ।

बजारमा आँप किन्दा के-के कुरामा ध्यान दिने ?

बजारमा आँप किन्दा सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुन्छ । कार्टुनमा राखेको आँपमा यदि इथिलिङको मात्रा बढी छ भने त्यसले असर गर्न सक्छ । तर खुला ठाउँमा रहेको आँप किन्दा त्यसले समस्या सिर्जना गर्दैन । आँप किन्दा सकेसम्म काँचो किन्नुहोस्, ताकि घरमा लगेर आफैँले पकाउन सकियोस् ।

उपभोक्ताले बढी पाकेको आँप खोज्छन् । त्यसले गर्दा पनि व्यवसायीहरुले त्यस्ता रसायनको प्रयोग गर्ने गर्छन् । तर आँप खाने बेलामा उपभोक्ताले केही धैर्य अपनाउने हो भने गुणस्तरीय हिसाबले आफ्नै घरमा आँप पकाएर खान सकिन्छ । जस्तो एकै ठाउँमा आँप राख्ने कन्जस्टेड गरेर राख्नु हुन्न । यस्तो गर्न सकियो भने बजारमा रहेका आँपलाई हामी सुरक्षित ढंगले खान सक्छौं ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै