देउवाजी ! कृपया ओलीतन्त्रका यी गल्ती नदोहोर्‍याउनुहोला

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी !
जय नेपाल-जय मातृभूमि-लाल सलाम-नमस्कार

‘जय नेपाल’ यसर्थमा कि तपाईंको प्रधानमन्त्रीत्वसँग तपाईंको मात्र हैन, सबै कांग्रेसजनको इज्जत, प्रतिष्ठा र आत्मसम्मान जोडिएको छ । ‘जय मातृभूमि’ यसर्थमा कि तपाईंको प्रधानमन्त्रीको सफलता, असफलताले जनता समाजवादी पार्टीको कार्यनीति र कार्यदिशाको सफलता असफलता समेत संपरीक्षण गर्नेछ ।

‘लाल सलाम’ यसर्थमा कि तपाईंको प्रधानमन्त्रीत्व कालमा कुनै अवगाल आइलागे माओवादी केन्द्र, एमाले-माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले समेत त्यसको भागीदार बन्नुपर्नेछ । ‘नमस्कार’ यसर्थमा कि सिङ्गो देश, जनता र इतिहासको गति कुनै न कुनै रूपमा तपाईंको कार्यशैली र क्रियाकलापसँग निर्भर गर्नेछ ।

‘प्रधानमन्त्री’ पद तपाईंका लागि यतिखेर पक्कै मुख्य कुरा हैन होला । प्रधानमन्त्री त तपाईं यसअघि नै चार पटक भइसक्नुभएको छ । पहिलो पटक प्रधानमन्त्री हुनेलाई पदले सनसनी, रोमाञ्चकता, के–के न पाएँ भन्ने भावना सृजना गर्दो हो । रहस्यबोध वा कुनै अतिरिक्त आनन्द दिंदो हो । पाँचौं पटक प्रधानमन्त्री हुनेलाई पद कति नै महत्वपूर्ण कुरा हो र ? पदले के नै थप आनन्द र सफलताको अनुभूति देला र ?

यो सत्य हो कि यसपटक तपाईंले पदका लागि खासै चासो राख्नुभएको र लोभ गर्नुभएको थिएन । अघिल्ला पटक गर्नु परेको थियो होला यसपटक मरिहत्ते गर्नुभएको थिएन । यसपालि तपाईंले पद खोजेको हैन, लावण्य देशमा हात्तीले नवराज खोजे जस्तो पदले तपाईंलाई खोजेको हो ।

यसपालि त तपाईंको ‘कम्युनिष्टहरू फुटेको बेला नयाँ चुनाव नै नेपाली कांग्रेसका लागि उचित हुन्छ’ भन्ने यस्तो अवसरको उपयोग गरेर ‘कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ’ भन्ने भित्री मनको चाहना थियो । तपाईंको चाहना लुकेको थिएन ।

एक कांग्रेस नेताका रूपमा पार्टीको मात्र हित हेर्दा त्यो कुनै नाजायज आकांक्षा पनि थिएन । पुस ५ गतेको पहिलो प्रतिनिधिसभा विघटनपछि अरू कांग्रेसजन ‘प्रतिगमन’ विरुद्ध सडक संघर्ष गर्दै थिए, तपाईं चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिंदै हुनुहुन्थ्यो ।

तर, राजनीतिक संघर्षको निर्ममता कुनै व्यक्तिको निजी चाहनाप्रति दयालु हुँदैन, चाहे व्यक्ति जतिसुकै ठूलो र शक्तिशाली पदमा होस् । संसारका अधिकांश शक्तिशाली शासक वा राजनीतिज्ञले नबुझ्ने र गल्ती गर्ने कुरा यही हो कि राजनीतिमा व्यक्ति निजी चाहनाको समपूरक हैन, इतिहासको गतिको एक कडी मात्र हुन्छ । पहिलो प्रतिगमनसम्म तपाईंमा विपक्षी गठबन्धन बनाएर सँगै सडक सङ्घर्ष गर्ने इच्छासम्म थिएन । ‘किन मिल्ने यिनीहरूसँग, ओलीसँग लड्न कांग्रेस एक्लै काफी छ भन्ने भावना’ थियो ।

तर, इतिहासले तपाईंको निजी इच्छा हेरेन । समयले तपाईंको व्यक्तिगत भावनालाई भाउ दिएन । इतिहासले आफ्नै गति पक्रियो । ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने, हुसेन पथको अभ्यास गर्ने तीव्र लालसा मात्र देखाएनन्, त्यसको चौतर्फी योजना र आक्रामक कारबाही गर्न थाले । तपाईं विपक्षी गठबन्धनमा आउन बाध्य हुनुभयो । यही अनिच्छित गठबन्धनले यति छिटो तपाईंलाई पाँचौं पटक प्रधानमन्त्री बनाउँछ भन्ने शायदै सोच्नुभएको थिएन होला । तर, हुनुभयो ।

ओलीले अति गर्न थालेपछि आजित भएकाहरूले तपाईंलाई जेठ ७ गते संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि समर्थनको हस्ताक्षर दिए । अरूले त दिने नै भए, एमालेको माधव नेपाल पक्षले समेत त्यो आँट गर्‍यो । पत्रकार सम्मेलनमा ‘मलाई सरकार चाहिएको छैन, म सरकार चलाउन वाक्कदिक्क भइसकें, वैकल्पिक सरकार बनाए हुन्छ’ जस्ता पाखण्डी कुरा गरिरहेका ओलीको ओठमुख सुक्यो ।

पत्रकार सम्मेलन रोकेर ओली हतारहतार शीतलनिवास दौडिए, गोजीमा महन्थ ठाकुर र राजेन्द्र महतोको फर्जी चिठी बोकेर । तपाईं विपक्षी गठबन्धनका नेताहरूसहित सशरीर सानले शीतलनिवास पुग्नुभयो ।

अदालतले त्यो दृश्य र गणित पनि हिसाब गर्‍यो । भन्दियो– तपाईंसँग १४९ को समर्थन थियो, ओलीसँग तीन जनाको ।तर, यो स्थिति तपाईंको व्यक्तिगत पराक्रम हैन, इतिहास–चक्रको गति थियो । कतै त्यो भाव तपाईंमा नआओस् ।

इतिहास–चक्रको गतिलाई निजी पराक्रम, बहादुरी वा सफलता ठान्न थाल्नुभयो भने ओलीकै जस्तो गल्ती हुन्छ । सत्तासँगै अहं र अहंसँगै पतनको जन्म हुनु औसत राजनीतिज्ञका लागि लागू हुने नियम हो । सत्तामा पुग्नुपर्नेहरूले गर्नुपर्ने पहिलो काम भनेकै अहंकारको जन्मबाट जोगिनु हो । ओलीको पतनका अरू कारण निमित्त हुन्, प्रमुख कारण अहंकार हो ।

तपाईंमा पनि त्यो भाव देखियो भने ‘देउवा’ भनेर कसैले काँध थाप्नेवाला छैन । यस पटकका घटनाक्रम ‘ओली’ र ‘देउवा’ बीचको व्यक्ति छनोट वा पक्षधरताको विषय हुँदै हैन । यो ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ बीचको पार्टीगत छनोट पनि हैन । यदि त्यसो हुन्थ्यो त माओवादी, एमाले माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चा तीन वटा कम्युनिष्ट समूह एकसाथ तपाईंलाई काँध थाप्न आउँदैनथे ।

घटनाक्रमको अन्तर्यमा अरू नै महत्वपूर्ण भाव छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्ने विषय छ । संविधानवाद र संविधानको रक्षा गर्ने विषय छ । ओलीतन्त्रको स्वेच्छाचारिताले जे–जे चिज बर्बाद र सत्यनाश गर्‍यो, त्यसलाई पुनश्चः लोकतान्त्रिक मार्गमा फर्काउनुपर्ने दायित्व छ । यी दायित्वबाट च्यूत हुनुभयो वा यी भावनालाई हानि पुर्‍याउनुभयो भने सबैले सजिलै तपाईंको साथ छोड्ने छन् ।

यहाँनेर मेरो जोड कति मात्र हो भने यसपटक तपाईं आफ्नो इच्छा, चाहना र प्रयासले प्रधानमन्त्री हुनुभएको हैन; ओलीको मति, इतिहासको गति र देशको नियतिले प्रधानमन्त्री हुनुभएको हो । यसपटक तपाईंको प्रधानमन्त्रीत्वको सान, ज्ञान र अभिमान देशको अवस्था र इतिहासको आवश्यकताप्रति समर्पित हुनुपर्दछ । व्यक्तिगत चाहना, गुटस्वार्थ र दलीयकरणका लागि हैन । विश्वास छ, त्यो बाटो रोज्नु हुनेछैन ।

मलाई विश्वास छ कि तपाईंले विश्वासको मत पाउनुहुनेछ । कमरेड माधव नेपालले पक्कै त्यो गल्ती नगर्नुहोला कि आफ्नै हस्ताक्षरले संसद ब्यूँताउने, आफ्नै समर्थनले नयाँ सरकार बनाउने, एक महीना नबित्दै त्यही संसदको हत्या गर्ने, त्यही सरकार गिराउने । यस्तो काम कसैको हितमा हुने छैन । माधव नेपाल र उनका सहकर्मीले अहिलेसम्म देखाएको साहस र समर्पणले त्यो बाटो रोज्न दिने छैन ।

तपाईंको सरकारले विश्वासको मत पायो भने संसदको बाँकी कार्यकाल करीब १७ महीना तपाईंको नेतृत्वको सरकार रहनेछ । मानौं कि विश्वासको मत पाउनुभएन संविधानको धारा १, २, ३ र ५ को प्रयोगपछि धारा ७६ (७) को प्रयोग हुने हो । यसको अर्थ हो कि विश्वासको मत लिने एक महीना र नयाँ चुनावमै जानु पर्‍यो भने पनि ६ महीना गरी कम्तीमा ७ महीना त यो सरकार चल्छ, चल्छ ।

यो गणना किन भने तपाईंले प्रधानमन्त्रीत्वको कार्यकाल लम्ब्याउन ओलीले जस्तो कुनै ताल, तिकडम, किर्ते र जालसाज गरिरहन जरूरी छैन । अधिकतम तपाईं करीब १८ महीना प्रधानमन्त्री रहने हो यो पटक । न्यूनतम ७ महीना अगाडि तपाईंलाई कसैले हटाउन सक्दैन । तसर्थ, कुनै जालझेलको खेल खेल्न जरूरी नै छैन । तपाईंको प्रधानमन्त्रीको यो कार्यकाल एक निर्धक्क कार्यकाल हो । कसैले हल्लाउन नसक्ने, पदमा टिक्न कुनै चिन्ता लिनु नपर्ने ।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले यति मात्र सहजता र प्रष्टता पाउनु पनि ठूलो सुविधा हो । संसदीय लोकतन्त्रमा अधिकांश प्रधानमन्त्रीहरू आफ्नो कुर्सीको चिन्ता गर्दै हैरान हुन्छन् । जब कुर्सीको चिन्ताले हरदम मथिङ्गल खान्छ, देश र जनताको बारेमा सोच्ने फुर्सद नै हुँदैन । ओलीले त्यही गरेर करीब ४० महीना बिताए । यद्यपि उनले त्यसो गर्न जरूरी थिएन । उनी त झन् झण्डै दुईतिहाइको प्रधानमन्त्री थिए । पद र कुर्सीको चिन्ता छोडेर निष्फिक्री देश र जनताको कुरा सोचेको भए हुन्थ्यो ।

तर, उनले आफ्नै पार्टी र सहकर्मीलाई विश्वास गर्न सकेनन् । फलतः दुई तिहाइको यो हविगत भयो । देउवाजी ! ओलीको यो गल्ती तपाईं विल्कुलै नदोहोर्‍याउनुहोला । संसदीय लोकतन्त्रमा गठबन्धन सरकार चलाउँदा सहकर्मी, साझेदार दल, गठबन्धन भावना र संस्कृतिलाई सर्वथा उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ । भारतमा २२ वटा दल मिलेर संसदको पूर्ण कार्यकाल सरकार चलाएका अनुभव छन् । त्यसको तुलनामा तपाईंले अहिले चलाउनुपर्ने गठबन्धन धेरै भद्दा र असजिलो हैन । यो गठबन्धनमा तपाईंलाई असजिलो पार्न चाहने मान्छे र दलहरू खासै कोही पनि छैनन्, कम्तीमा अहिलेको हकमा ।

ओलीको अर्को मुख्य गल्ती नैतिक मूल्यबाट जानाजान स्खलित हुनु थियो । निजी तथा गुटस्वार्थका लागि ओलीले गर्नु हुने र गर्न नहुने कुराको भेद गर्न सक्ने क्षमता गुमाएका थिए । कुनै उपदेश दिन खोजेको हैन, स्मरण मात्र गराएको, यथार्थमा सार्वजनिक जीवनमा भएका मान्छेको जीवनको सार्थकता नै नैतिक मूल्यमा आधारित हुन्छ ।

हिजोका कुरा गर्ने हो भने केही आरोप तपाईंमाथि पनि छन् । विशेषतः २०५८ पछि तपाईंका कदम कसरी ज्ञानेन्द्र शाहको कुत्सित मनसायका लागि सहयोगी भए भन्ने सन्दर्भमा । हिजो के कसो भए, त्यता नजाऊँ, आज तपाईंबाट त्यस्ता गल्ती भए क्षम्य हुन गाह्रो छ । सर्वोच्च अदालतको फैसलामा यसपटक ‘संवैधानिक नैतिकता’ व्याख्या समेटिएको थाहा पाउनुभयो नै होला । त्यो भनेको कुनै ठूलो, गाह्रो र अमूर्त कुरा हैन । नैतिक मूल्यको सरल अर्थ गर्न हुने र गर्न नहुने कुराको विवेकसम्मत भेद गर्नु हो । संसारका यावत् नीतिशास्त्रले यही भन्छन् कि मान्छे इन्द्रिय वशीभूत प्राणी हो । महान् भनिएका मानिसहरू अरू केही हैनन्, आफ्ना स्वार्थलाई विवेकले नियन्त्रण गर्न सक्ने मानिस हुन् ।

मलाई लाग्दछ– तपाईंको विशेष जोड सुशासनमा हुनुपर्दछ । एउटा यस्तो कार्यकाल कि न कसैले घुस खायो वा नखुवायो, न कमिसन खायो न खुवायो, न कसैले कुनै आर्थिक हिनामिना गर्‍यो वा गरायो । ७–१७ महीनाको एउटा अवधि नमूनाकै लागि सही के त्यसरी ‘मेन्टेन’ हुन सक्दैन ? चाहनुभयो भने सक्दछ । त्यसका लागि अर्थोक केही गर्नुपर्दैन, तपाईं आफैं, तपाईंको सचिवालय, सल्लाहकार समूह र मन्त्रीलाई प्रष्ट गर्न सक्नुपर्दछ कि यसपालि म यसरी चल्छु, कृपया मलाई साथ दिनुस् । कसैले दायाँ–बायाँ नगर्नुस्, गरे म सहने छैन । के तपाईंले यसो भन्न सक्नुहोला ?

गठबन्धन भावनाको रक्षा, विवेकसम्मत कार्यशैली र सुशासन– यी मैले ‘नरम शक्ति’ को कुरा गरें । अब अलिकति ‘गरम शक्ति’ को कुरा गर्न चाहन्छु । ‘गरम शक्ति’ अर्थात् तत्काल गरिनुपर्ने कामहरू । सबैलाई थाहा छ– ७ देखि १७ महीनाभित्र कुनै ठूलो पहाड पल्टिनेवाला छैन । ओलीले अर्को गल्ती यही गरेका थिए कि मानौं कि उनी कुनै पहाड पल्टाउन प्रधानमन्त्री भएका हुन् । पल्टाउन नसकिने ठूलो ढुंगा हातले ठेली बसेर ढुंगा कहीं पुग्दैन, बरु ठेल्ने आफैं असिनपसिन हुन्छ । उल्टै हातमा ठेला उठ्छ । अबको शासनशैलीमा त्यस्तो मूर्खता कसैले पनि गर्नुहुँदैन ।

ओलीले चुच्चे रेल, मेट्रो, मोनो रेल भने । घरघरमा ग्याँसपाइप भने । शहरभरी विद्युतीय बस भने । हिन्द महासागरमा पानीजहाज भने । आफ्नै तेल उत्खनन गर्ने भने । आदित्यादि केके भने भने । देउवाजी ! कृपया यो गल्ती तपाईं नगर्नुहोला । यस्तो ठूला योजनाहरू पाइपलाइनमा हाल्दिने हो, कुनै एउटा प्रधानमन्त्रीको कार्यकालमा सम्पन्न हुने हैनन् । जनता अब त्यति लाटा छैनन् कि कसैले उडन्ते गफ लगायो भन्दैमा पत्याउन्नन् । राज्यका दीर्घकालीन प्रक्रिया चल्दै गर्लान् । त्यो कुनै एउटा प्रधानमन्त्रीको जस–अपजसको विषय हुँदैन । त्यस्ता उडन्ते गफले भोट आउने पनि हैन ।

तत्काल गर्नुपर्ने काम चाहिं कोभिड, कोभिड र कोभिड हो । प्रधानमन्त्रीको पद सम्हाल्दा पहिलो निर्णय कोभिड खोप बनाउनुभएकोमा धन्यवाद छ । कोभिड–१९ नियन्त्रणमा ओलीले जुन गल्ती गरे, त्यो दोहोर्‍याउनु हुन्न भन्ने आशा धेरैलाई छ । कोभिड–१९ बारे ओलीले हिमाली चिसो हावा, बेसार पानी, अम्बाको पातको गार्गिल, मसालेदार खाना आदि अनेक उडन्ते कुरा गर्दै हिंडे । स्वास्थ्य विज्ञानको दृष्टिकोणबाट तपाईं कोभिड–१९ बारे कहिल्यै एक शब्द नबोल्दा हुन्छ । यो प्रधानमन्त्रीको कार्य क्षेत्र नै हैन, स्वास्थ्य विज्ञहरूको कार्य क्षेत्र हो । प्रधानमन्त्री स्वास्थ्य विज्ञ हुनुपर्दैन, महामारीको गम्भीरता बुझ्ने र नीतिगत व्यवस्थापन गर्ने हो । ओली त्यहींनेर चुकेका थिए ।

कोभिड–१९ को खोप अनुदान पर्खेर हुँदैन । पुग्दैन । ओली सरकारको अर्को ठूलो गल्ती थियो यो । मध्यावधि चुनाव गर्न जति पनि पैसा छ भन्ने, अन्यत्र छेलोखेलो पैसा दुरुपयोग गर्ने, खोप किन्ने क्षमता छैन भनेर दान पर्खेर बस्ने । यो तरिका बिल्कुल ठीक थिएन ।

बरु एक वर्षको बजेट पूरै सकिए सकियोस्, अरू कुनै विकास निर्माणको काम नभए नहोस्, तर खोप बेलामै किनेरै सर्वसुलभ बनाउन जरूरी छ । हरेक चिजमा दान, अनुदान पर्खेर बस्ने, यो मगन्ते संस्कृति अब नेपाल र नेपालीलाई सुहाउँदैन । विश्वको सम्मानजनक साझेदार हुने हो हामी, सधैं कसले कहिले के दिन्छ भनेर हात थाप्दै हिंड्ने मगन्ते हैन । ओलीले कोभिड खोप जस्तो विषयमा पनि देशलाई मगन्ते बनाए । देशको भिखारी छवि कायम राखे । कसैले आफैं दिन्छन्, ठीकै छ ।

तर, कसैसँग नेपालले खोप किन्न सक्दैन, दान दिनुस् भनेर नमाग्नुहोला, राष्ट्रपतिलाई चिठी लेख्न नलगाउनुहोला । खोप किन्ने प्रक्रिया अविलम्ब शुरुआत गर्नुहोला ।
कोभिड–१९ र लामा–लामा लकडाउनबाट रोजगारी गुमाएका श्रमिक र थङ्थिलो भएका व्यवसायीहरू तपाईंको प्राथमिकतामा हुनुपर्दछ । यिनीहरूको आर्थिक पुनरुत्थानका लागि के गर्ने हो ? त्यो कसरी गर्न सकिन्छ ? त्यसको एउटा अध्ययन, योजना र कार्यान्वयन हुनै पर्दछ । यो पक्षबाट सोच्दै नसोच्नु र कुनै आर्थिक राहत प्याकेज नल्याउनु ओली सरकारको गल्ती मात्र हैन, एक प्रकारले अपराध नै थियो ।

राज्यले कडा लकडाउन गरेको समयावधि र आगामी दिनमा पनि गर्नुपर्ने भए प्रति श्रमिक परिवार न्यूनतम मासिक ५ हजार सरकारले हरहालतमा दिन सक्नुपर्दछ । कोभिड–१९ बाट अभिभावक गुमाएका नाबालक परिवारहरू भए उनीहरूको लालनपालन र शिक्षा–दीक्षाका लागि एक भिन्नै योजना बन्नुपर्दछ । व्यवसायीहरूको बैंक किस्तामा लकडाउन अवधिको ब्याज छुट दिने व्यवस्था हुनुपर्दछ । समग्र आर्थिक पुनरुत्थानको खास योजना बनाइनुपर्दछ ।

अरू धेरै कुरा त यति थोरै समयमा के गर्नुहोला र ? तर थप केही काम अझै महत्वपूर्ण छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि कुनै खास सोच र योजना पाइप लाइनमा हाल्दिनुस्, त्यो तपाईंको कार्यकालमा पूरा हुने छैन, तर शुरू होस् । हद भयो यी क्षेत्रका समस्या र गुनासा ।

ओली सरकारले गरेका गैरकानूनी र विधि विपरीतका नियुक्तिहरू खारेज हुनै पर्दछ । अन्यत्र त सजिलै होला तर संवैधानिक निकायमा भएका ‘गैरसंवैधानिक नियुक्ति’ हरू कसरी खारेज गर्ने हो ? त्यसको उचित बाटो के हुन सक्दछ ? यो पाटोबाट पनि सोचिनुपर्दछ ।

आँट गर्नुहुन्छ भने संविधान जारी गर्दा बखतका मधेशी, जनजाति, आदिवासी, महिला, मुस्लिम, दलित, सीमान्तकृत समुदायका मागलाई छुने गरी संविधान संशोधनको प्रक्रिया शुरूआत गर्नुस् । यी विषयमा तपाईं र तपाईंको पार्टीका धारणा फरक छन्, यो काम तपाईंका लागि सजिलो छैन भन्ने थाहा छ तर; हिजो गरिएको वाचा अनुरूप प्रतीकात्मक रूपमा सही, शुरुआत गर्न सक्नुहुन्छ ।

नागरिकता विधेयक अविलम्ब पास हुनै पर्दछ । अन्यथा तीन लाख बढी नागरिकताविहीन युवा-युवतीको जिन्दगीको श्राप लाग्नेछ । यो सवालमा कुनै सस्तो लोकप्रियताको मोह वा नक्कली राष्ट्रवादीहरूको भय राख्न जरूरी छैन । बुबाआमा नागरिक हुने सन्तान अनागरिक हुने यस्तो प्रचलन दुनियाँको कुनै पनि देशमा छैन । जन्मसिद्धका सन्तानलाई नागरिकता दिनु विश्व मानवताका दृष्टिकोणले समेत अत्यावश्यक छ । उनीहरूलाई नागरिकताको अधिकारबाट अझै बञ्चित गरिए, त्यो कुनै सामान्य गल्ती हैन, पापसरह हुनेछ ।

भू-राजनीतिक सन्तुलन नबिग्रने गरी कूटनीतिक क्षमता प्रस्तुत गर्नुपर्नेबारे सम्झाउनु नै परेन । अन्तिममा निष्पक्ष तथा स्वतन्त्र चुनाव गराउने दायित्व त छँदैछ । यति मात्र गर्न सक्नुभो भने तपाईंको रिपोर्ट कार्डमा रातो मसी लाग्ने छैन, हरियालीपूर्ण हुनेछ । तपाईंलाई साथ दिने गठबन्धनका साझेदारहरूको पनि शिर ठाडो हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै